
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली शुक्रबार नुवाकोटको विदुरलगायत बाढी प्रभावित क्षेत्रमा स्थलगत निरीक्षणका लागि पुगेका छन् । ओली पार्टीका नेता तथा स्वयंसेवक टोलीसहित विदुर नगरपालिका–५ अन्तर्गत बटार, ढुङ्गेलगायत क्षेत्रमा पुगेका हुन् । उनले बाढीबाट भएको क्षतिको अवस्था बुझ्नुका साथै प्रभावित स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या र आवश्यकताबारे जानकारी लिएका छन् ।
नुवाकोट पुग्नुअघि ओलीले पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेका थिए । एमालेले नुवाकोट र रसुवाका बाढी प्रभावितका लागि खाद्यान्नलगायत राहत सामग्री पठाएको जनाएको छ ।
भोटेकोसी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । नदी किनारका बस्ती, सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुगेपछि उद्धार, राहत र पुनःस्थापनाको काम जारी छ ।
ओलीले यसअघि बुधबार पनि धादिङ र नुवाकोटका विभिन्न बाढी प्रभावित क्षेत्रमा पुगेर पीडितको अवस्था बुझेका थिए । त्यस क्रममा उनले प्रभावितको गुनासो सुन्दै पार्टीका कार्यकर्तालाई व्यवस्थित रूपमा राहत वितरण र पुनःस्थापनामा जुट्न निर्देशन दिएका थिए ।
एमालेले बाढीपीडितलाई सहयोग गर्न १ करोड २० लाख रुपैयाँको कोष बनाउने घोषणा गरेको छ । पार्टीले तत्काल राहत प्रभावित नागरिकसम्म पुर्याउने र उद्धार तथा राहतपछि पुनर्निर्माण तथा पुनःस्थापनामा समेत सहयोग गर्ने जनाएको छ ।

























