
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा खोजी तथा उद्धार, शव व्यवस्थापन र राहत वितरणको काममा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् ।
नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्दै आईजीपी कार्कीले प्रहरीले गरिरहेको खोजी तथा उद्धार, शव व्यवस्थापन, घटनास्थल मुचुल्का र राहत वितरणलगायतका कामबारे जानकारी लिएका थिए ।
अनुगमनका क्रममा उनले प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रतिनिधिसँग विपद् व्यवस्थापन, उद्धार तथा खोजीलाई थप प्रभावकारी बनाउने विषयमा छलफलसमेत गरे । राहत वितरणलाई व्यवस्थित, पारदर्शी र आवश्यकताका आधारमा अघि बढाउन स्थानीय तहसँग प्रभावकारी समन्वय गर्न उनले निर्देशन दिए ।
विपद्को कठिन अवस्थामा सुरक्षाकर्मीले उच्च मनोबलका साथ काम गर्नुपर्ने भन्दै कार्कीले आफ्नो ज्ञान, सीप, विवेक र क्षमताको अधिकतम प्रयोग गरी सम्पर्कविहीनको खोजी तथा उद्धारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिए ।
उनले बाढी प्रभावित क्षेत्रमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुन सक्ने दुर्व्यवहार र हिंसाप्रति विशेष संवेदनशील हुन पनि प्रहरीलाई निर्देशन दिएका छन् । विपद्को मौका छोपी हुन सक्ने चोरी, लुटपाटलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न सुरक्षा सतर्कता बढाउनुपर्ने उनको भनाइ थियो ।
बाढीपछि ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेको र कतिपय शव अझै पहिचान हुन बाँकी रहेको अवस्थामा खोजी तथा उद्धारसँगै शव व्यवस्थापन र पीडित परिवारलाई राहत तथा सहायता पुर्याउने काम पनि चुनौतीपूर्ण बनेको छ । अनुगमनमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेसहित वरिष्ठ प्रहरी अधिकारीहरू पनि सहभागी थिए ।

























