
काठमाडौं । बडादसैँ अवधिमा काठमाडौं उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारी चलाउने एक हजार ३७ जना चालक कारबाहीमा परेका छन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ७ गतेसम्म १४ दिनमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने एक हजार दुई जना र लागुपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ३५ जना चालक कारबाहीमा परेका हुन् ।
कार्यालय प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार मापसे गर्ने चालकमा ५९ जना सार्वजनिक सवारीसाधनका चालक छन् । लापसे गरी सवारी चलाउने ३५ जना नै सार्वजनिक सवारीसाधनका चालक रहेको उनले बताए । चाडपर्वमा यात्रुको आवागमन र सवारीसाधनको चाप बढ्ने भएकाले दुर्घटनाको जोखिम न्यूनीकरण गर्न निगरानी र चेकजाँच तीव्र पारिएको कार्यालयले जनाएको छ ।
ट्राफिक प्रहरीले चालकलाई मादक तथा लागुपदार्थ सेवन गरेर सवारी नचलाउन, नियम पालना गर्न र सुरक्षित यात्रालाई प्राथमिकता दिन आग्रह गरेको छ ।



















