जहाँ ‘म’ हाबी हुन्छ, त्यहाँ ‘हामी’ हराउँछ

Share this
758shares
मुलुकी खबर
देवीलाल पाण्डे
clock२०८३ कात्तिक ७, शनिबार १७:३०

जुन घरमा ‘मेरो पेवा, मेरो दाइजो, मेरो पैसा, मेरो चाहना, मेरो कुरा’ भन्ने आवाज गुञ्जिन्छ, त्यही घरमा बिस्तारै प्रेम मर्छ, विश्वास हराउँछ र परिवारको जरो सुक्दै जान्छ । घर तब टुट्दैन, जब भित्तामा दरार पर्छ । घर त तब टुट्छ, जब हृदयहरू टुट्छन् ।

जहाँ कोही बिहान ९ बजेसम्म सुत्छ, कोही बिहानदेखि रातिसम्म दौडधुप गर्छ, तर कसैलाई अरूको मिहिनेतको मूल्य थाहा हुँदैन, त्यस्तो घरमा सन्तुलन हराउँछ ।

जहाँ कसैले काम गर्न चाहँदैन, जिम्मेवारी लिँदैन, तर सबैलाई आफ्नो हक चाहिन्छ, त्यहाँ बिस्तारै घरको आत्मा मर्छ ।

जुन घरमा सल्लाहलाई अपमान ठानिन्छ, जहाँ कोही पनि अरूको कुरा सुन्न चाहँदैन, सबै बोल्न मात्र खोज्छन्, त्यस्तो घरमा आशीर्वाद होइन, अभिशाप पस्छ ।

जहाँ जसले भेट्यो, उसैले खर्च गर्छ र जसको हातमा पैसा पर्‍यो, उसैले मनपरी गर्छ, त्यस्तो घरमा लक्ष्मी बस्दिनन्, ऋण र तनावले ठाउँ लिन्छन् ।

बचत नभएको घर, समझदारी नभएको परिवार र नेतृत्व नभएको टोल-  यी तीन कुरा जहाँ देखिन्छन्, त्यहाँ घरको जग कमजोर हुँदै जान्छ ।

बाहिरका कुरा सुन्ने तर घरभित्रका कुरा बिर्सने बानी र सामूहिक निर्णयभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिने सोच नै घर मास्ने अदृश्य विष हुन् ।

परिवार केवल रगतको सम्बन्ध होइन, यो त समझदारी, माया र सहयोगको बन्धन हो। यदि त्यो बन्धन कमजोर भयो भने, सबैले ‘म’ भन्न थाल्छन् र ‘हामी’ हराउँदै जान्छ ।

जहाँ ‘हामी’ हराउँछ, त्यहाँ घरको आत्मा नै हराउँछ ।

याद राख्नुपर्ने कुरा के हो भने घरको सुन्दरता कपडामा होइन, व्यवहारमा हुन्छ। घरको शक्ति पैसामा मात्र होइन, एकताको भावना र बुढापाकाको आशीर्वादमा पनि हुन्छ ।

जहाँ सबैले एकअर्काको दुःखमा साथ दिन्छन्, त्यो घर कहिल्यै मासिँदैन । तर जहाँ सबैले आफ्नो खुसी मात्र खोज्छन् र अरूको पीडा देख्दैनन्, त्यो घर उज्यालो भएर पनि अन्धकारमा डुब्न पुग्छ ।

घर बचाउन चाहनुहुन्छ भने बोल्नुभन्दा बढी सुन्न सिकौँ, खर्च गर्नुभन्दा बढी बचत गर्न सिकौँ र आफ्नो स्वार्थभन्दा माथि उठेर परिवारको हित सोचौँ ।

कहिलेकाहीँ एउटा शब्दले सम्बन्ध जोडिन्छ, त कहिलेकाहीँ एउटा गल्तीले घर भत्किन्छ । त्यसैले माया गरौँ, आदर गरौँ र घरको आत्मा जोगाऔँ- किनकि जहाँ परिवार बाँच्छ, त्यहीँ भगवान् बस्छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×