
विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–८ स्थित डाँस खोलाको पानीमा एक वृद्ध मृत फेला परेका छन् । मृत फेला पर्नेमा पथरीशनिश्चरे नगरपालिका–८ का ७७ वर्षीय कृष्णा माझी रहेको प्रहरीले जनाएको छ । स्थानीयले कात्तिक ६ गते साँझमा खोलाको पानीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सूचना प्राप्त हुनासाथ प्रहरी चौकी कुशेचौरीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय पथरीबाट थप प्रहरी टोली खटिएको थियो ।
प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, मंगलबारे पठाएको थियो ।
कात्तिक ७ गते दिउँसो १ बजे पोस्टमार्टम सम्पन्न भएपछि मृतकका भाइ हर्कबहादुर माझीले शव बुझिलगेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



















