
काठमाडौं । सिंहदरबारस्थित संघीय संसद् भवन परिसरमा ‘जेनजी सहिद स्मारक पार्क तथा सालिक र स्तम्भ’ को औपचारिक शिलान्यास गरिएको छ । गृहमन्त्री सुधन गुरुङ, पूर्वाधारमन्त्री सुनिल लम्साल र जेनजी सहिद परिवार कल्याणकारी समाजका ज्येष्ठ सदस्य वासुदेव जोशीले आइतबार संयुक्त रूपमा उक्त संरचनाको शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले नयाँ पुस्ता (जेनजी) को माग र भावनालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले भने, ‘हामीले परिवर्तनका लागि जे कसम खाएका छौँ, त्यसलाई दृढताका साथ पूरा गर्नेछौँ ।’
गत वर्ष भदौ २३ गते भएको ‘जेनजी आन्दोलन’ को सम्झनामा यो स्मारक निर्माण गर्न लागिएको हो । सोही आन्दोलनको बलमा तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो । त्यसपछि गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट वर्तमान सरकार गठन भएको हो ।
सरकारले जेनजी आन्दोलन र सहिदहरूको सम्मानमा भदौ २३ गतेलाई ‘जेनजी सहिद दिवस’ का रूपमा मनाउने निर्णय गरेको छ । भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार भदौ २३ गते देशभर सार्वजनिक बिदा दिइएको छ ।
संसद् भवन परिसरमा बन्ने यस स्मारकले आन्दोलनको उपलब्धि र सहिदहरूको योगदानलाई जीवन्त राख्ने विश्वास लिइएको छ ।

























