
काठमाडौं । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–गुदेलस्थित हुङ्गा (हुङ्कु) खोलामा पहिरो खसेर करिब १५ मिटर अग्लो ‘ड्याम’ बनेको छ।
बाढी पूर्वानुमान महाशाखाले आज (शुक्रबार) बिहान जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुलाई उद्धृत गर्दै खोलामा माथिबाट पहिरो खसेर ड्याम बनेको जनाएको हो। महाशाखाका अनुसार उक्त क्षेत्रमा थप पहिरोसमेत खसिरहेको छ।
पहिरोका कारण हुङ्गा खोला र दुधकोशी नदीमा बाढीको जोखिम बढ्न सक्ने भन्दै तटीय तथा आसपासका क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
महाशाखाले अर्को सूचना जारी नभएसम्म हुङ्गा खोला र दुधकोशी नदीको तटीय तथा आसपासका क्षेत्रमा विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।



















