गृहमन्त्री गुरुङ यूएईमा व्यस्त

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २९, आइतबार १८:२९

यूएई । नेपालको आन्तरिक सुरक्षा, आर्थिक साझेदारी र लगानी विस्तारका विषयलाई केन्द्रमा राखेर गृहमन्त्री सुधन गुरुङले संयुक्त अरब इमिरेट्स (यूएई)मा उच्चस्तरीय भेटवार्तालाई तीव्रता दिएका छन् । औपचारिक भ्रमणमा रहेका उनले अबुधाबीमा यूएई सरकारका मन्त्री तथा विभिन्न सरकारी कम्पनीका उच्च अधिकारीसँग छलफल गरेका हुन् ।

यूएई सरकारको विशेष निमन्त्रणामा दुबईमा आयोजित ‘वर्ल्ड पुलिस समिट २०२६’मा सहभागी हुन यूएई पुगेका गुरुङले अबुधाबीमा विदेश व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेयोदीसँग भेट गरेका थिए । भेटमा नेपाल र यूएईबीचको आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारसँगै लगानीका नयाँ सम्भावनाबारे छलफल भएको छ ।

नेपालको जलविद्युत्, कृषि, पर्यटन, आतिथ्य सेवा र पूर्वाधार विकासमा यूएईको लगानी भित्र्याउने विषयमा दुवै पक्षले चासो देखाएका छन् । विशेषगरी बूढीगण्डकी जलविद्युत् आयोजनामा यूएईको लगानी आकर्षित गर्ने विषयलाई प्राथमिकताका साथ उठाइएको थियो । नेपालमा डाटा सेन्टर स्थापना र सूचना प्रविधिको क्षेत्रमा लगानी विस्तार गर्ने सम्भावनाबारे पनि छलफल भएको जनाइएको छ ।

आर्थिक एजेन्डासँगै सुरक्षा क्षेत्रको सहकार्य पनि भेटवार्ताको महत्त्वपूर्ण विषय बनेको छ । आधुनिक प्रविधिमा आधारित ‘फेसलेस पुलिसिङ’, गैरघातक सुरक्षा सामग्रीको उत्पादन तथा सुरक्षा निकायको क्षमता अभिवृद्धि र आधुनिकीकरणका विषयमा दुई पक्षबीच विचार आदानप्रदान भएको छ ।

भ्रमणका क्रममा गुरुङले अबुधाबीस्थित नेपाली दूतावास पुगेर नेपाल–यूएई सम्बन्ध, कन्सुलर सेवा र त्यहाँ रहेका नेपाली नागरिकको अवस्था तथा कल्याणबारे जानकारी लिएका थिए । उनले यूएईस्थित नेपाली समुदायका प्रतिनिधिसँग पनि अन्तरक्रिया गरेका छन् ।

गुरुङले यूएईका उपप्रधानमन्त्री तथा आन्तरिक मामिलामन्त्री लेफ्टिनेन्ट जनरल शेख सैफ बिन जायेद अल नाह्यानको निमन्त्रणामा भ्रमण गरेका हुन् । उनले यूएईका समकक्षी र श्रममन्त्रीसँग समेत द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमणले नेपाल–यूएईबीच सुरक्षा, श्रम, व्यापार र लगानीका क्षेत्रमा सहकार्यको दायरा फराकिलो बनाउने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.