पानी भरिएको भाँडोमा डुबेर अढाई वर्षीया बालिकाको मृत्यु

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भदौ ३१, बुधबार ०७:३१

विराटनगर । मोरङको केराबारी गाउँपालिका–१ तेलेङ पाटीगाउँमा पानी भरिएको भाँडोमा डुबेर २ वर्ष ६ महिना (अढाई वर्ष)की बालिकाको मृत्यु भएको छ ।

फडीन्द्र मगरकी छोरी दियाना मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मंगलबार दिउँसो करिब २ः३० बजे आफ्नै घरमा खेल्ने क्रममा जाँड पकाउन प्रयोग हुने फोसी (भाँडो)मा भरिएको चिसो पानीमा बालिका डुबेको अवस्थामा उनकी आमा यमुना मगरले फेला पारेकी थिइन् ।

बालिकालाई तत्काल उपचारका लागि धनकुटाको डाँडाबजारस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो । तर, स्वास्थ्य केन्द्रका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

घटनाका बारेमा धनकुटाको प्रहरी चौकी डाँडाबजारले साँझ करिब ६ः१० बजे मोरङ प्रहरीलाई जानकारी दिएको थियो । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.