
काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी अर्थ समितिको प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको अर्थ समितिको बैठकले समितिका सभापति डा. कृष्णहरि बुढाथोकीको प्रस्तावमा प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको हो ।
बैठकमा सभापति बुढाथोकीले समितिका सदस्यहरूबाट प्राप्त सुझाव र सल्लाहका आधारमा विधेयकमाथि दफावार छलफल गरी प्रतिवेदन तयार पारिएको बताए। उनले समितिका बैठकबाट भएका निर्णयबाहेक अन्य विषय प्रतिवेदनमा समावेश भए–नभएको यकिन गर्नसमेत आवश्यक रहेको बताए । विधेयकलाई सर्वसम्मत ढंगले अघि बढाउन समितिका सबै सदस्य सकारात्मक रहेको उल्लेख गर्दै उनले आवश्यक थप सुझाव तथा धारणा भए अर्थ समिति सचिवालयमा लिखित रूपमा अभिलेख गराउन सकिने जानकारी दिए ।
उनले नेपाल राष्ट्र बैंक ऐन संशोधनका क्रममा मुलुकले आर्थिक रूपमा फड्को मार्न सक्ने गरी संरचनागत विषयमा ध्यान दिनुपर्ने बताए । विशेषगरी राष्ट्र बैंकको नेतृत्व चयन र नेतृत्वले गर्ने कार्यसम्पादनसँग सम्बन्धित विषयमा समितिमा महत्त्वपूर्ण छलफल भएको उनको भनाइ थियो । उनले समितिमा भएका छलफल र निर्णयका आधारमा तयार पारिएको प्रतिवेदनलाई सर्वसम्मत रूपमा पारित गरेर अघि बढाउन आग्रह गरेका थिए ।



















