
काठमाडौं । यातायात व्यवस्था विभागले लामो समयदेखि रोकिएको सार्वजनिक यात्रुवाहक सवारी साधनको दर्ता सर्तसहित खुला गरेको छ । विभागले असोज १ गतेदेखि लागू हुने गरी नयाँ सार्वजनिक सवारीको दर्ता खुला गरेको हो । विभागले सातवटै प्रदेशका सम्बन्धित मन्त्रालय र स्थानीय तहलाई पत्राचार गर्दै काठमाडौं उपत्यका र उपत्यकाबाहिरका लागि छुट्टाछुट्टै मापदण्ड तोकेर दर्ता खुला गरिएको जानकारी गराएको छ ।
नयाँ व्यवस्थाअनुसार काठमाडौं उपत्यकाबाहिर दर्ता हुने सार्वजनिक यात्रुवाहक सवारीमा विद्युतीय सवारी साधनलाई प्राथमिकता दिइएको छ । काठमाडौं उपत्यकाभित्र भने बढ्दो सवारी चाप र रुट व्यवस्थापनलाई ध्यानमा राख्दै सीमित सवारीको मात्र दर्ता खुला गरिएको छ । विभागका अनुसार उपत्यकामा हाललाई ‘स्कुल बस’ र ‘सट्टाभर्ना’ अर्थात् पुराना सवारी विस्थापित गरी त्यसको सट्टामा नयाँ दर्ता गर्ने सवारीका लागि मात्र दर्ता खुला गरिएको हो ।
यसअघि विभागले २०८३ जेठ ७ गते सूचना जारी गर्दै नेपालमा भित्रिने सबै सार्वजनिक सवारी साधनको दर्ता अर्को सूचना नभएसम्मका लागि रोक्का गरेको थियो । त्यसपछि साउन १८ गते सार्वजनिक मालवाहक सवारीको दर्ता खुला गरिएको थियो । अहिले भने सार्वजनिक यात्रुवाहक सवारीको दर्ता पनि सर्तसहित खुला गरिएको हो । निर्णय कार्यान्वयनका लागि विभागले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्बन्धित मन्त्रालय तथा देशभरका स्थानीय तहलाई आवश्यक निर्देशनसमेत दिइसकेको छ ।

























