
ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
राघापुरको भिरमा ढुंगा लिन जाने क्रममा ना १ लु ४ त १६७२ नम्बरको ट्याक्टर बुधबार बिहान करिब १० बजेतिर सडकबाट करिब पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६२ वर्षीय छविलाल तिमल्सिना र सोही स्थानका २२ वर्षीय रविन पुलामी मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
ट्याक्टरमा पाँच जना सवार थिए । दुर्घटनामा चालकसहित तीन जना सकुशल रहेको प्रहरीले जनाएको छ । दुर्घटना कसरी भयो भन्ने यकिन छैन । प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ ।

























