
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीन दिने भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्। उनी बिहान ७:३५ बजेको उडानबाट काठमाडौं–नयाँदिल्ली प्रस्थान गरेका हुन्।
विपद्पछिको पुनर्निर्माण तथा नेपाल–भारतबीच आर्थिक, राजनीतिक र कूटनीतिक विषयमा सहकार्यका विभिन्न आयामबारे छलफल गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको छ।
अर्थमन्त्री वाग्ले ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत गएका हुन्। प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी छन्।
भ्रमणका क्रममा बिहीबार साँझ भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम छ। शुक्रबार उनले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्नेछन्।
सोही दिन भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। त्यसपछि भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा पनि उनी सहभागी हुने कार्यक्रम छ।
शनिबार बिहान भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाका प्रतिनिधिसँगको सम्मेलनमा वाग्ले प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्।
शनिबार दिउँसो दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा उनी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। अर्थमन्त्री वाग्ले शनिबार साँझ नेपाल फर्कने कार्यक्रम छ।

























