फाइल तस्बिरखोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले एक महिनाअघि बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट गरेको छ।प्रहरीले गत साउन २१ गते राति दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाको वालिङस्थित मध्यपहाडी लोकमार्गबाट ट्रकमा लुकाएर राखिएको अवस्थामा उक्त गाँजा बरामद गरेको थियो। प्रहरीले बरामद गाँजाको मूल्य करिब दुई करोड रुपैयाँ बराबर रहेको जनाएको छ।
जङ्गलमा रोकेर राखिएको ट्रक शंकास्पद लागेपछि जाँच गर्दा गाँजा लुकाएर राखिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले बताए। उनका अनुसार प्रदेश १–०२–००२ ख ००८३ नम्बरको ट्रकको चालक बस्ने भाग र पछाडिको डालाबीच फल्स बटम बनाएर गाँजा लुकाइएको थियो।
दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डअन्तर्गत वालिङमा रोकेर राखिएको उक्त ट्रकबाट गाँजा बरामद भए पनि चालकको पहिचान अझै खुलेको छैन। चालक फरार रहेकाले गाँजाको धनीसमेत पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी प्रमुख प्रकाश बुधाथोकीले बताए।
प्रहरीले ट्रकधनीलाई भने मंगलबार पक्राउ गरेको जनाएको छ। कानुनी प्रक्रिया पूरा गरी बरामद गाँजा जिल्ला अदालत खोटाङको परिसरमा लगेर नष्ट गरिएको प्रहरीले जनाएको छ।

























