
काठमाडौं । संविधान २०७२ जारी भएको दिनको स्मरण गर्दै आज (शनिबार) देशभर विभिन्न कार्यक्रमका साथ संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदै छ। २०७२ साल असोज ३ गते संविधानसभाबाट जारी भएको ऐतिहासिक संविधानले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र मौलिक हक प्रत्याभूति गरेको थियो ।
यस वर्ष संविधान जारी भएको एक दशक पूरा भएको सन्दर्भमा दिवसलाई संविधानका उपलब्धि, कार्यान्वयनको अवस्था र आगामी चुनौतीबारे समीक्षा गर्ने अवसरका रूपमा पनि हेरिएको छ ।
यस अवसरमा काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा मूल समारोह आयोजना गरिएको छ। समारोहमा बालेन्द्र शाह, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुख तथा उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।
मूल समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न सांस्कृतिक समूह तथा विद्यार्थीहरूले मार्चपास, झाँकी र सांस्कृतिक प्रस्तुति गरेका थिए । कार्यक्रममा संविधानको महत्त्व, राष्ट्रिय एकता र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणसँग सम्बन्धित सन्देश प्रस्तुत गरिएको थियो ।
यस अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना सन्देश जारी गर्दै संविधानको पूर्ण कार्यान्वयन, लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण तथा राष्ट्रिय एकता र समृद्धिका लागि सबै पक्षलाई जिम्मेवार भएर अघि बढ्न आह्वान गरेका छन् ।
प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, विभिन्न सङ्घसंस्था तथा शैक्षिक संस्थाहरूले पनि दिवसका अवसरमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका छन् । कतिपय स्थानमा प्रभातफेरी, अन्तरक्रिया, दीप प्रज्ज्वलन, रक्तदान, सरसफाइ तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । सरकारले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान तथा विभूषण प्रदान गर्ने, सार्वजनिक संस्थान तथा सरकारी निकायले विशेष कार्यक्रम आयोजना गर्ने र राष्ट्रिय झण्डा फहराउनेलगायतका कार्यक्रम पनि गर्दै आएको छ ।

























