
जनकपुरधाम । संविधान जारी गर्दा मधेसमा दमन गरिएको र आफूहरूले उठाउँदै आएका माग सम्बोधन नभएको भन्दै मधेस केन्द्रित दलहरूले संविधान दिवसको विरोध गरेका छन् ।
मधेस केन्द्रित दलहरूले संविधान जारी भएको दिनलाई ‘कालो दिन’ का रूपमा मनाउँदै आएका छन् । यसै क्रममा तराई–मधेस लोकतान्त्रिक पार्टीले जनकपुरधामको जनकचोकसहित विभिन्न स्थानमा कालो झण्डा गाडेर ‘कालो दिवस’ मनाएको छ ।
पार्टीका जिल्ला अध्यक्ष सतीशकुमार कर्णले मधेसमा दमन गरेर संविधान जारी गरिएकाले आफूहरूले त्यसलाई स्वीकार गर्न नसकेको बताए । दमनबाट जारी भएकाले मधेसी जनताले पनि संविधानलाई अहिलेसम्म पूर्ण रूपमा स्वीकार नगरेको उनको दाबी छ ।
जनता समाजवादी पार्टीले पनि संविधान दिवसको विरोधमा मधेसका विभिन्न जिल्लामा विचार गोष्ठी आयोजना गरेको छ । संविधानप्रति रहेको विमति र आफूहरूले उठाउँदै आएका मुद्दाबारे छलफल तथा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पार्टीले जनाएको छ ।

























