
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकार विद्यमान संविधानको अक्षर र भावनाप्रति पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन्।
संविधान दिवसका अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले संविधानप्रति सरकारको प्रतिबद्धता स्पष्ट रहेको बताएका हुन्। ‘यो संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्णरूपमा प्रतिबद्ध छ,’ उनले भने।
उनले संविधान जति राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने हात इमानदार र निरन्तर क्रियाशील भएनन् भने त्यो कागजमा सीमित हुने बताए।
‘संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हात इमानदार र अनवरत क्रियाशील भएनन् भने त्यो एउटा कागज मात्रै बन्नेछ,’ उनले भने। सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न सरकारले काम गरिरहेको दाबी गर्दै उनले यो अभियानको सुरुवात मात्रै भएको बताए।
‘म स्पष्ट भन्छु, यो सुरुवात हो, अन्त्य होइन। भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो छ तर यो जरो उखेल्ने हातहरू बलिया छन्, झन् धेरै छन्,’ उनले भने।
विकासका लागि सुशासन अनिवार्य पूर्वसर्त भएको उल्लेख गर्दै उनले प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिएको बताए।

























