केन्द्रबाट सूची नआएपछि डा. कोइरालाको क्षेत्रमा अधिवेशन रोकियो 

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ३, शनिबार १५:०३

विराटनगर । नेपाली कांग्रेसले आज (शनिबार) देशभर वडा अधिवेशन गरिरहेको भए पनि मोरङ क्षेत्र नम्बर ६ का वडाहरूको अधिवेशन अन्योलमा परेको छ । क्रियाशील सदस्यहरूको अद्यावधिक नामावली समयमै प्राप्त नहुँदा अधिवेशन प्रक्रिया अघि बढ्न सकेको छैन । यो क्षेत्र कांग्रेस नेता डा. शेखर कोइरालाको गृह क्षेत्र हो ।

अधिवेशन सञ्चालनको जिम्मेवारी पाएका कांग्रेस नेता तथा पूर्वसांसद चुमनारायण तबदारका अनुसार केन्द्रीय तहबाट क्रियाशील सदस्यहरूको नामावली अझै अद्यावधिक भएर आएको छैन । त्यसैले तोकिएकै दिन वडा अधिवेशन सुरु हुन सकेन ।

Advertisement

‘६ नम्बर क्षेत्रका वडाहरूमा अहिलेसम्म क्रियाशील सदस्यहरूको अद्यावधिक सूची आएको छैन,’ तबदारले भने, ‘हामी गाउँमै छौँ । सर्वसम्मति भएका वा थपिएका नामसहितको अन्तिम नामावली केन्द्रबाट नआएसम्म निर्वाचन अधिकृतहरूले काम सुरु गर्न सक्ने अवस्था हुँदैन ।’

अन्तिम नामावली प्राप्त नभएसम्म कुन आधारमा अधिवेशन गराउने भन्ने व्यावहारिक कठिनाइ उत्पन्न भएको उनले बताए । सूची प्राप्त हुनासाथ प्रक्रिया अघि बढाउन सकिने उनको भनाइ छ । ‘नामावली आइहाल्यो भने बेलुकासम्म नै अधिवेशन सम्पन्न गर्न सकिन्छ,’ उनले भने ।

यस क्षेत्रका सभापति देवराज तामाङले केन्द्रीय नेतृत्वलाई असहयोग गरेपछि अधिवेशन गराउने जिम्मेवारी तबदारलाई दिइएको थियो । यसैबीच, कांग्रेसको संस्थापन र इतर समूहले छुट्टाछुट्टै महाधिवेशन मिति तोकेपछि डा. कोइराला भने तटस्थ बसेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×