
धरान । लिम्बु पत्रकार संघ केन्द्रीय समितिले धरानको ऐतिहासिक विजयपुर क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेको छ। संघले धरानमा आयोजना गरेको २२औँ स्थापना दिवसको समापनमा जारी पाँचबुँदे ‘धरान घोषणापत्र’मार्फत विजयपुरको ऐतिहासिक तथा पुरातात्त्विक महत्वलाई संरक्षण गर्दै अभिलेखीकरण, अध्ययन, उत्खनन र सीमाङ्कनको प्रक्रिया यथाशीघ्र अघि बढाउन स्थानीय तथा संघीय सरकारसँग माग गरेको हो।
घोषणापत्रको चौथो बुँदामा ऐतिहासिक राजधानी विजयपुर दरबारको पुरातात्त्विक तथा सांस्कृतिक महत्वलाई अक्षुण्ण राख्दै भविष्यमा विश्व सम्पदा सूचीमा सूचीकृत गर्न दीर्घकालीन योजना बनाउन माग गरिएको छ। त्यसका लागि पुरातत्त्व विभागसँग समन्वय गरी उत्खनन, सीमाङ्कन र अभिलेखीकरणको अध्ययन प्रक्रिया अघि बढाउन संघले आग्रह गरेको छ।
यस्तै, भाषा आयोगले कोशी प्रदेशमा लिम्बु र मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउन गरेको सिफारिस तत्काल कार्यान्वयन गर्न प्रदेश सरकारसँग माग गरिएको छ। आयोगले २०७८ सालमै सिफारिस गरे पनि हालसम्म कार्यान्वयनको प्रक्रिया अघि नबढेको भन्दै संघले अविलम्ब कार्यान्वयन गर्न माग गरेको हो।
संघले निजी सञ्चारमाध्यमलाई राज्यले उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनमा रोक लगाइएकोप्रति पनि असन्तुष्टि जनाएको छ। तीनै तहका सरकारबाट सञ्चारमाध्यमलाई विज्ञापन उपलब्ध गराउनुका साथै त्यसको भुक्तानीसमेत नियमित गर्न माग गरिएको छ। विज्ञापन रोक्ने सरकारी नीतिबाट विशेषगरी स्वरोजगारमुखी मिडिया हाउस प्रभावित भएको संघको भनाइ छ।
नेपालमा मातृभाषाको पत्रकारितालाई प्रवर्द्धन गर्न ठोस नीति तथा कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्न पनि तीनै तहका सरकारसँग माग गरिएको छ। संघका केन्द्रीय अध्यक्ष सन्देश सुब्बाको हस्ताक्षरमा जारी घोषणापत्रमा भदौ १० गते भोटेकोसीमा आएको बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ताको खोजी तथा उद्धारलाई तीव्रता दिन सरकारसँग आग्रह गरिएको छ। साथै, प्रभावितका लागि राहत र पुनर्स्थापनाको कामलाई प्रभावकारी बनाउनसमेत माग गरिएको छ।



















