
काठमाडौं । वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडक खण्डमा यातायात प्रभावित भएको छ । कतिपय सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही स्थानमा जोखिमलाई मध्यनजर गर्दै सवारी सञ्चालनमा समय निर्धारण गरिएको छ ।
नेपाल प्रहरीले सोमबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढी तथा पहिरोका कारण प्रभावित सडकको अवस्थाका बारेमा जानकारी दिएको हो । प्रहरीका अनुसार कोशी प्रदेशको संखुवासभास्थित मकालु गाउँपालिका–४ को नेता भिरमा असोज २ गते बिहान पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द छ । उक्त सडकमा अझै यातायात सञ्चालन हुन सकेको छैन ।
बागमती प्रदेशका विभिन्न सडकमा पनि बाढी र पहिरोको असर देखिएको छ । काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै असोज १६ गतेदेखि सवारी सञ्चालनमा विशेष व्यवस्था गरिएको छ । सोअनुसार साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द रहनेछ भने बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म अवस्था हेरेर १० टनसम्मका मालवाहक सवारी साधनलाई सञ्चालन गर्न दिइनेछ ।
रसुवाका मुख्य राजमार्गहरू पनि बाढीका कारण अवरुद्ध रहेको प्रहरीले जनाएको छ । नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित घट्टेखोलामा बाढी र पहिरोको जोखिमका कारण असोज १ गते राति १० बजेदेखि टोखा–छहरे सडक खण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।
विदुर नगरपालिका–१० को सिमटारमा बाढी आएपछि पासाङ ल्हामु सडक खण्डसमेत अवरुद्ध बनेको छ । उक्त स्थानमा असोज १० गते बिहान बाढी आएपछि सडक पूर्ण रूपमा बन्द भएको हो ।
धादिङ हुँदै जाने पृथ्वीलोकमार्गमा भने पहिरो हटाएपछि यातायात एकतर्फी रूपमा सञ्चालनमा आएको छ । बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाडखोलामा भदौ १६ गते र शीतलबजारमा भदौ २६ गते गएको पहिरो हटाएर सडक सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।
अवरुद्ध सडक पूर्ण रूपमा खुलाउने तथा जोखिमयुक्त स्थानमा यातायात सहज बनाउने काममा सडक विभाग र प्रहरी टोली परिचालित छन् । वर्षा र बाढीका कारण थप जोखिम हुन सक्ने भएकाले सडकको अवस्था हेरेर मात्रै सवारी सञ्चालन गर्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।




















