नयाँ मौसमी प्रणालीको असरबारे मौसम विभागको निगरानी, सतर्क रहन आग्रह

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ५, सोमबार ११:०६

काठमाडौं । बंगालको खाडीमा विकसित नयाँ मौसमी प्रणालीका कारण नेपालमा वर्षाको सम्भावना बढेको छ । तर, यसले कस्तो र कति असर पार्छ भन्नेबारे अहिले नै यकिन गर्न नसकिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अण्डमान सागर आसपास विकसित न्यून चापीय प्रणाली अहिले बंगालको खाडीको पूर्व–मध्य भागमा केन्द्रित छ । यो प्रणाली थप संगठित हुँदै पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने सम्भावना रहेकाले विभागले यसको निरन्तर निगरानी गरिरहेको जनाएको छ ।

Advertisement

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार प्रणाली बलियो हुँदै गएमा नेपालमा वर्षाको गतिविधि बढ्न सक्छ । तर, वर्षाको मात्रा र यसबाट पर्नसक्ने सम्भावित क्षतिको अवस्था भने अहिले नै निर्धारण गर्न सकिने अवस्था छैन ।

यस्तै, मौसमविद् विनोद पोखरेलका अनुसार ठूलो वर्षा हुन सक्ने प्रणाली विकसित भइरहेको अवस्था रहे पनि यो सबैतिर उत्तिकै परिमाणमा नहुने देखिन्छ । सामान्यभन्दा अलि जोखिमपूर्ण हुन सक्ने भएकाले सतर्कता भने अपनाउनुपर्ने उनको भनाइ छ ।

यसैबीच, आगामी २४ घण्टामा देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षा हुने तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा महाशाखाले ‘पहेंलो चेतावनी’ जारी गर्दै आवश्यक सतर्कता अपनाउन र पूर्वतयारीमा रहन आग्रह गरेको छ । वर्षा हुने समयमा पहाडी क्षेत्रमा पहिरो तथा नदी–खोलामा बहाव बढ्न सक्ने भएकाले यात्रा र दैनिक गतिविधिमा सावधानी अपनाउनुपर्ने देखिएको छ ।

पछिल्लो २४ घण्टामा तनहुँको खानीखोला स्टेसनमा ४१.८ मिलिमिटर र मकवानपुरको सिलिङ्गेमा ३८.८ मिलिमिटर वर्षा मापन भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×