
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा आज (सोमबार) सार्वजनिक बसमा आगलागी हुँदा चालक गम्भीर घाइते भएका छन् ।
बा ५ ख ४२७४ नम्बरको बसका चालक २५ वर्षीय दावा लामाको शरीरको करिब ९० प्रतिशत भाग जलेको कीर्तिपुर बर्न अस्पतालले जनाएको छ । अस्पतालका प्लास्टिक सर्जरी विभाग प्रमुख एवं सिनियर कन्सल्टेन्ट प्लास्टिक सर्जन डा. विशाल कार्कीका अनुसार लामाको अवस्था गम्भीर छ ।
घाइते लामालाई दिउँसो करिब १ बजे अस्पताल पुर्याइएको थियो । प्रारम्भिक विवरणअनुसार लामाले आफ्नै बसमा आगो लगाएका हुन् । उनले किन आगो लगाए भन्ने खुलेको छैन ।
ट्राफिक प्रहरीसँगको विवादपछि आक्रोशित भएर उनले बसमा आगो लगाएको हुनसक्ने प्रारम्भिक अनुमान गरिए पनि घटनाको यकिन कारण खुल्न बाँकी छ ।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेले घटना भर्खरै भएकाले विस्तृत अनुसन्धान भइरहेको र थप विवरण आउन बाँकी रहेको बताएका छन् ।

























