प्रधानमन्त्री बालेन न्युयोर्क जाँदै, परराष्ट्रमन्त्री खनाल पनि पुगे

Share this
667shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ६, मंगलबार ०६:४९

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आज (मंगलबार) अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछन् । प्रधानमन्त्री शाह ४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क जान लागेका हुन् ।

न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा प्रधानमन्त्री शाहले असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम छ । नेपालमा पछिल्लो समय भोटेकोशी बाढीलगायत प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको सन्दर्भमा प्रधानमन्त्री शाहले आफ्नो सम्बोधनमा जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली मुलुकले भोगिरहेका असरका बारेमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी गरेका छन् ।

Advertisement

यसैबीच, महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल न्युयोर्क पुगिसकेका छन् । उनलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, महावाणिज्यदूत दधिराम भण्डारीसहित नियोगका कर्मचारीले स्वागत गरेका थिए ।

असोज ४ गते त्यसतर्फ प्रस्थान गरेका परराष्ट्रमन्त्री खनालले महासभाका क्रममा नेपालले आयोजना गर्ने ‘एभरेष्ट टु द सी’ साइडलाइन बैठकको नेतृत्व गर्नेछन् । साथै, उनले विभिन्न देशका आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाललगायत अधिकारी पनि न्युयोर्क पुगेका छन् । महासभामा नेपालको सहभागिताले जलवायु परिवर्तन, हिमाली क्षेत्रको जोखिम तथा नेपालको अन्तर्राष्ट्रिय चासोका विषयलाई विश्व समुदायसमक्ष प्रस्तुत गर्ने अवसरका रूपमा हेरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×