
विराटनगर । साउदी अरबमा मृत्यु भएका मोरङको उर्लाबारी नगरपालिका–७ भद्रमारीका ५१ वर्षीय छत्रबहादुर (कमल) पौडेलको शव परिवारले ५३ दिनपछि मात्रै प्राप्त गर्यो ।
शव ल्याएर मंगलबार अन्त्येष्टि गरिएको छ । तर, परिवारले ६ वर्षदेखि एउटै आशा बोकेको थियो—परदेशमा रहेका घरका मूल मान्छे अब घर फर्किनेछन्, परिवारसँगै बस्नेछन् र वर्षौंदेखि रोकिएको पारिवारिक खुसी फेरि फर्किनेछ ।
तर, घर फर्किने दिन नजिकिँदै गर्दा त्यो आशा सधैंका लागि टुट्यो । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका पौडेलको गत साउन १४ गते दुर्घटनामा परेर मृत्यु भयो । घर फर्किने तयारीमा रहेका उनी अन्ततः जीवित होइन, शवका रूपमा नेपाल फर्किए ।
पौडेल करिब ६ वर्षदेखि नेपाल आएका थिएनन् । परिवारसँगको सल्लाहअनुसार भदौ १५ गते घर फर्किने तयारी थियो । लामो समयपछि श्रीमान घर आउने खबरले श्रीमती देवी जिसी पौडेल र १९ वर्षीया छोरी स्मृति पौडेलमा खुसी छाएको थियो । तर, घर आउने दिनभन्दा करिब एक महिनाअघि नै साउदीबाट उनको मृत्युको खबर आयो ।
साउदीमा उनको बसाइसमेत कानुनी रूपमा व्यवस्थित नभएको आफन्तले बताएका छन् । उनीसँग श्रम स्वीकृति नभएको, भिसाको म्यादसमेत सकिएको र त्यसपछि पनि साउदीमै बसेर लुकिछिपी काम गर्दै गरेको अवस्थामा दुर्घटनामा परेको पारिवारिक स्रोतले बतायो ।
दुर्घटनामा मृत्यु भएको ५३ दिनपछि मंगलबार बिहान करिब ३ बजेतिर पौडेलको शव घर ल्याइपुर्याइएको आफन्त मधन जिसीले जानकारी दिए । पौडेलको साउदी बसाइ गैरकानुनी थियो । त्यही भएर आवश्यक प्रक्रिया पूरा गर्न समय लागेका कारण शव नेपाल ल्याउन लामो समय लागेको उनले बताए ।
घरमा शव पुगेपछि परिवारमा फेरि एकपटक पीडा बल्झियो । श्रीमानको शव देखेपछि देवी जिसी पौडेलको अवस्था सम्हालिन नसक्ने भयो । श्रीमानको अन्त्येष्टिका क्रममा बेहोस भएपछि उनलाई मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा उपचारका लागि लगिएको थियो ।
पौडेलको मंगलबार उर्लाबारी नगरपालिका–४ स्थित बक्राहा घाटमा अन्त्येष्टि गरिएको छ । आफन्त, नातागोता, छरछिमेकी र शुभेच्छुकहरू अन्तिम बिदाइका लागि घाटमा पुगेका थिए ।
पौडेल परिवारका लागि उनी परदेशमा रहेका व्यक्ति मात्रै थिएनन्, घरका मूल खम्बा थिए । उनको कमाइमै श्रीमती र छोरीको दैनिकी चलेको थियो । परिवारको जिम्मेवारी सम्हाल्दै आएका पौडेलको मृत्युले अहिले श्रीमती र छोरीलाई सहाराविहीन बनाएको छ ।
आफन्त मधन जिसीका अनुसार पौडेलको निधनसँगै परिवारले सबैभन्दा ठूलो आधार गुमाएको छ । ‘घरको मूल खम्बा नै ढल्यो । उहाँकै कमाइमा परिवार चलेको थियो । अब श्रीमती र छोरी मात्रै छन्,’ जिसीले भने ।
वैदेशिक रोजगारीका क्रममा नेपालीले ज्यान गुमाउने घटना नयाँ होइन । तर, कानुनी प्रक्रिया पूरा नगरी विदेशमा बस्दा दुर्घटना वा मृत्युजस्तो दुःखद घटना हुँदा परिवारले थप समस्या झेल्नुपर्ने अवस्था देखिन्छ । पौडेलको हकमा पनि श्रम स्वीकृति नभएको र भिसाको म्याद सकिएको अवस्थाका कारण साउदी पक्षबाट क्षतिपूर्ति प्राप्त हुन नसक्ने अवस्था रहेको आफन्तले बताएका छन् ।
लामो समय विदेशमा बसेर परिवारको भविष्य बनाउन खोजेका पौडेलले अन्तिम समयमा आफ्नो घर फर्किने योजना बनाएका थिए । तर, उनको त्यो योजना पूरा हुन पाएन । श्रीमती र छोरी ६ वर्षपछि उनी घर आउने प्रतीक्षामा बसेका थिए । तर, मंगलबार बिहान बाकसभित्र शव आइपुग्यो । घटनाले परिवारमा ठूलो बज्रपात परेको छ ।
‘छत्रबहादुर परदेशबाट फर्किने प्रतीक्षामा परिवार बसेको थियो । तर, काठको बाकसमा आयो शव । परिवारले पीडा सहन सकिरहेको छैन,’ आफन्त भन्छन् । परिवारका लागि अब छत्रबहादुर सम्झना मात्रै बाँकी छन् । कमाइ गरेर परिवारको भविष्य सुरक्षित बनाउने सपना बोकेर विदेशिएका उनी आफैं जीवित फर्किन सकेनन् । उनको मृत्युसँगै श्रीमती र छोरीको भविष्य भने अनिश्चित बनेको आफन्तले बताए ।

























