
विराटनगर । भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै मोरङ र सुनसरी प्रशासनले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म कोशी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ । भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै आकस्मिक बाढी, पहिरो, गेग्रान बहाव र डुबानको जोखिम बढ्न सक्ने प्रशासनले जनाएको छ ।
वर्षाका कारण सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ । मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले जारी गरेको सूचनामा नदी तथा खोला किनार, पहिरोको जोखिम भएका भू–भाग, भिरालो जमिन तथा डुबान हुन सक्ने क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।
जोखिमको संकेत देखिएमा समयमै नजिकको सुरक्षित स्थानमा जान र स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गर्न पनि प्रशासनले आग्रह गरेको छ । अति आवश्यक अवस्थाबाहेक लामो दूरी तथा रातिको समयमा यात्रा नगर्न, यात्रा गर्नुअघि सडक र मौसमको अवस्थाका बारेमा जानकारी लिन तथा बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, गर्भवती र बिरामीको सुरक्षामा विशेष ध्यान दिन प्रशासनले अनुरोध गरेको छ ।
त्यसैगरी पशुचौपाया, खाद्यान्न, औषधि, महत्वपूर्ण कागजातलगायत आवश्यक सामग्री सुरक्षित स्थानमा राख्न र नेपाल मौसम विज्ञान विभाग, संघीय तथा प्रदेश सरकार, स्थानीय तह र सुरक्षा निकायबाट जारी हुने आधिकारिक पूर्वानुमान, पूर्वसूचना तथा चेतावनीका बारेमा नियमित जानकारी लिन मोरङ प्रशासनले आग्रह गरेको छ ।
सुनसरी प्रशासनले पनि भारी वर्षाका कारण बाढी, पहिरो, कटान र डुबानको जोखिम बढ्न सक्ने भन्दै नदी तथा खोला किनार र अन्य जोखिमयुक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । मोरङ र सुनसरी प्रशासनले सम्बन्धित स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायलाई समेत आवश्यक पूर्वतयारीसहित सतर्क अवस्थामा रहन र जोखिममा रहेका नागरिकलाई आवश्यकता अनुसार समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरेका छन् ।



















