
इलाम । इलामको इलाम नगरपालिका–९ स्थित फुटसलको भित्री पक्की सडकमा चालकले ‘ओड’ खोज्ने क्रममा बोलेरो गाडी अनियन्त्रित भई गुड्दा पाँचवटा दुईपांग्रे सवारीसाधनमा क्षति पुगेको छ ।
प्रहरीका अनुसार मे १ ज २४७२ नम्बरको बोलेरो गाडी रोकेर चालकले ‘ओड’ खोज्ने क्रममा बुधबार राति करिब ९ः३० बजेतिर गाडी ओरालोतर्फ गुडेको थियो । त्यस क्रममा सडक छेउमा पार्किङ गरिएका स्कुटर तथा मोटरसाइकलमा ठोक्किँदै बोलेरो पल्टिएर प्र १–०३–००१ प ७२१२ नम्बरको स्कुटरमाथि पुगेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा प्र१–०३–००१ प ७२१२ नम्बरको स्कुटरमा आंशिक क्षति पुगेको छ । त्यस्तै, बा प्र ०२–०६४ प ८०८२ नम्बरको स्कुटर, प्र १–०१–०१३ प २६६५ नम्बरको स्कुटर, प्र १–०१–०१९ प ६९५५ नम्बरको स्कुटर र मे १० प ९८२९ नम्बरको मोटरसाइकलमा समेत सामान्य क्षति पुगेको छ ।
बोलेरो चालक इलामको सन्दकपुर गाउँपालिका–४ माबु घर भई हाल इलाम नगरपालिका–९ मा डेरा गरी बस्ने ३५ वर्षीय निमा शेर्पाले मादक पदार्थ सेवन (मापसे) गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनास्थल जिल्ला प्रहरी कार्यालय इलामबाट करिब दुई किलोमिटर दक्षिणमा पर्छ ।
दुर्घटनामा मानवीय क्षति भने भएको छैन । प्रहरीले गलत स्थानमा सवारीसाधनको पार्किङ, चालकको लापरबाही र मापसे दुर्घटनाको कारण देखिएको प्रहरीले जनाएको छ ।

























