
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ। असोज ८ देखि ११ गतेसम्म हुन सक्ने सम्भावित बाढी, पहिरो तथा डुबानको जोखिमलाई ध्यानमा राख्दै मन्त्रालयले प्रदेशका स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग तथा संघीय अस्पताललाई आवश्यक पूर्वतयारी गर्न निर्देशन दिएको हो।
मन्त्रालयले सार्वजनिक बिदाका दिनमा समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन र विपद्को अवस्था आए तत्काल परिचालन हुने गरी तयारी अवस्थामा बस्न भनेको छ। प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई चौबीसै घण्टा सञ्चालन गरी आवश्यक सूचना संकलन तथा समन्वय गर्न पनि निर्देशन दिइएको छ।
स्वास्थ्य सेवा विभागलाई आकस्मिक तथा नियमित स्वास्थ्य सेवा निरन्तर सञ्चालनका लागि आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापनसहितको योजना असोज ८ गतेभित्र पेश गर्न भनिएको छ। जोखिमयुक्त जिल्लामा सर्पदंशविरुद्धको औषधिसहित अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्री पर्याप्त मात्रामा मौज्दात राख्न र द्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राख्न पनि विभागलाई निर्देशन दिइएको छ।
मन्त्रालयले प्रसूति समय नजिक रहेका गर्भवती महिला तथा दीर्घरोगीलाई सुरक्षित स्थानमा रहन वा स्वास्थ्य संस्थाको नजिक बस्न सहजीकरण गर्न भनेको छ। नियमित सेवन गर्ने औषधि साथमा राख्न पनि उनीहरूलाई आग्रह गरिएको छ। विपद्का समयमा तत्काल स्वास्थ्य सेवा आवश्यक परेमा १०२ मा सम्पर्क गरी एम्बुलेन्स सेवा लिन सकिने व्यवस्था मिलाउन मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ।

























