
काठमाडौं । लगातारको वर्षापछि बाढी र पहिरोको जोखिम बढ्दा देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले बिहीबार बिहान ८:३० बजेसम्मको विवरण सार्वजनिक गर्दै कोशी, बागमती र लुम्बिनी प्रदेशका विभिन्न सडकखण्डमा पूर्ण तथा आंशिक रूपमा आवागमन अवरुद्ध भएको जनाएको छ।
कोशी प्रदेशमा सोलुखुम्बुको सिद्धिचरण लोकमार्गसहितका सडकमा भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै असोज १२ गतेसम्म बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यकबाहेकका सवारी साधन तथा पैदल यात्रुको आवागमन रोकिएको छ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ दौतेखोलास्थित मध्यपहाडी लोकमार्गमा पहिरो खसेपछि सडक एकतर्फी रूपमा सञ्चालनमा छ।
बागमती प्रदेशमा पनि विभिन्न सडकखण्डमा आवागमन प्रभावित भएको छ। काभ्रेको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडकखण्डमा १० टनसम्मका मालवाहक सवारीसाधनलाई साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न दिइएको छ। निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसाधन भने बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने व्यवस्था गरिएको छ।
नुवाकोटको टोखा–छहरे सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा बाढीपहिरोको जोखिमका कारण राति १० बजेदेखि बिहान ५ बजेसम्म यातायात रोकिएको छ। पसाङ ल्हामु सडकखण्डको विदुर नगरपालिका–१० सिमटारमा बाढी आएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। रसुवाका मुख्य राजमार्गसमेत बाढीका कारण बन्द भएका छन्।
धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–१० ज्वाङखोला र वडा नम्बर ७ को कृष्णभीरमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। मकवानपुरको कान्तिराजमार्गअन्तर्गत भैँसे–भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा पहिरोको जोखिमका कारण असोज ९ गते बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म रातिको समयमा यातायात पूर्ण रूपमा रोकिएको छ।
लुम्बिनी प्रदेशमा अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सडकखण्डअन्तर्गत पाणिनी गाउँपालिका–२ ढुङग्रेखोलानजिक पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध छ। पाल्पाको सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–३ डामसाइटमा पहिरो खसे पनि सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ।
मौसम प्रतिकूल रहेकाले प्रहरीले सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न तथा सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

























