
धनगढी । लगातार भइरहेको वर्षा र सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात बन्द गरिएको छ। अछाम, बैतडी, बाजुरा, डडेलधुरा, दार्चुला, डोटी र बझाङमा लामो तथा छोटो दूरीका सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो। जिल्ला प्रशासन कार्यालयहरूले सवारीसाधन सञ्चालनमा लगाएको रोक असोज ११ गते बिहानसम्म कायम रहने जनाएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाजुरालाई अति जोखिमयुक्त जिल्लाको सूचीमा राखेको तथा असोज ९ गते दिउँसोदेखि लगातार वर्षा भइरहेकाले सम्भावित क्षति न्यूनीकरणका लागि सवारी आवागमनमा रोक लगाइएको प्रशासनले जनाएको छ।
प्रशासनले सर्वसाधारणलाई यात्रा स्थगित गरी सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। अत्यावश्यक वा आकस्मिक अवस्था परेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ।



















