
काठमाडौं। निरन्तरको वर्षासँगै देशका प्रमुख नदी तथा सहायक नदीमा जलसतह बढ्न थालेपछि विभिन्न क्षेत्रमा आकस्मिक बाढीको जोखिम बढेको छ।
बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार कोशी र नारायणी तथा तिनका सहायक नदीमा जलसतह सतर्कता तह पार गरेको छ। बागमती, पश्चिम राप्ती र बबईमा पनि बहाव सतर्कता तह नजिक पुगेको छ।
महाशाखाले शनिबार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, बाणगङ्गा, पश्चिम राप्ती र बबई बेसिनका अधिकांश मापन केन्द्रमा जलसतह थप बढ्ने पूर्वानुमान गरेको छ। प्रमुख नदीमा पानीको बहाव बढ्ने क्रम आगामी एक-दुई दिनसम्म जारी रहन सक्ने बताइएको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका स-साना नदीमा आज आकस्मिक बाढीको उच्च जोखिम रहेको छ। गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, पूर्वी तथा पश्चिम नवलपरासी, डोल्पा, जाजरकोट, रुपन्देही, कपिलवस्तु, म्याग्दी, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, मुगु, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डोटी, हुम्ला र डडेल्धुरा तथा आसपासका जिल्लाका नदीमा जलसतह उल्लेख्य बढ्न सक्ने महाशाखाले जनाएको छ।
यी क्षेत्रमा बाढीको जोखिम उच्च रहेकाले नदी आसपास तथा तल्लो भूभागमा बसोबास गर्नेले विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। काठमाडौं, भक्तपुर र ललितपुरसहित ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, पर्सा, रसुवा, नुवाकोट, धादिङ र चितवनमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।
दाङ, अर्घाखाँची, पूर्वी तथा पश्चिम रुकुम, प्युठान, रोल्पा, सल्यान, जुम्ला, कालिकोट, दैलेख, बाजुरा, अछाम, बझाङ, दार्चुला र बैतडी आसपासका क्षेत्रमा पनि मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। भोलि पनि देशका अधिकांश पहाडी तथा तराईका जिल्लामा बाढीको मध्यम जोखिम कायमै रहनेछ। असोज १२ गते भने कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स–साना नदीमा मात्र बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान छ।
प्रमुख नदीमा जलसतह सतर्कता तह पार गरिसकेको र धेरै जिल्लामा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागका बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ।



















