
काठमाडौं । नेपालमा मनसुनी गतिविधि कमजोर बन्दै गएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहे पनि देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव कायम छ ।
यसको प्रभावस्वरूप आज (मंगलबार) बिहान हिमाली क्षेत्रमा आंशिक बदली देखिएको छ भने पहाडी तथा तराईका अधिकांश भू–भागको मौसम मुख्यतया सफा रहेको छ । केही स्थानमा भने आंशिक बादल लागेको छ ।
मंगलबार दिउँसो देशका अधिकांश क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा एवं हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै, राति हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ । मनसुन र पश्चिमी वायुको प्रभाव कमजोर हुँदै गएकाले देशभर ठूलो वर्षाको सम्भावना भने नरहेको मौसमविद्हरूले जनाएका छन् ।



















