विराटनगरमा तासको खाल : प्रहरीलाई देखेपछि भागदौड, दुई तलाबाट हामफाल्दा घाइते

Share this
679shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १३, मंगलबार ०७:४६

विराटनगर । विराटनगरमा तास खेलिरहेको स्थानमा प्रहरी पुगेपछि भागदौड मच्चिएको छ । भागदौडका क्रममा दुई तलामाथिबाट हामफालेर भाग्न खोज्ने एक जना घाइते भएका छन् ।

विराटनगर महानगरपालिका–६ सरोचियास्थित लालु पासवानको घरमा सोमबार राति तास खेलिरहेको अवस्थामा प्रहरी पुगेपछि भागाभाग भएको हो । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार भाग्ने क्रममा विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखिया घरको दुई तलामाथिबाट हामफालेका थिए ।

Advertisement

हामफाल्दा उनको दाहिने खुट्टा भाँचिएको छ । एम्बुलेन्स चालकसमेत रहेका मुखियाको प्रहरी निगरानीमा विराटनगरस्थित श्री अस्पतालमा उपचार भइरहेको छ । अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन् ।

एसपी कटवालका अनुसार राति करिब ११ः३० बजेतिर गस्तीमा रहेको प्रहरी टोलीले सरोचियामा गस्ती गरिरहेका बेला पासवानको घरबाट मानिसहरू होहल्ला गर्दै भागिरहेको देखेको थियो । तत्काल घरमा पुगेर बुझ्दा तास खेलिरहेको र प्रहरीलाई देखेपछि भागदौड मच्चिएको पाइएको उनले बताए ।

प्रहरीले तास खेलिरहेका घाइतेसहित ८ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मोरङको धनपालथान गाउँपालिका–६ का ३३ वर्षीय साजन राजवंशी, विराटनगर–४ का ५२ वर्षीय सत्यनारायण राजवंशी र ४८ वर्षीय तोरण यादव, विराटनगर–६ का २६ वर्षीय राजेश कामत, ५३ वर्षीय गंगाराम मण्डल र ४३ वर्षीय विष्णु कामत तथा विराटनगर–१४ का ५५ वर्षीय बलराम कोइराला रहेका छन् । घाइते उपचाररत छन् ।

प्रहरीले उनीहरूको साथबाट तास र नगद ४८ हजार ३ सय ९५ रुपैयाँ बरामद गरेको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान अघि बढाइएको एसपी कटवालले बताए ।

प्रहरी पुगेपछि तासको खालबाट भाग्ने क्रममा अन्य व्यक्तिलाई समेत सामान्य चोट लागेको बताइएको छ । स्थानीयका अनुसार पासवानको घरमा तासको खाल नियमितजस्तै सञ्चालन हुने गरेको छ । त्यहाँ तास खेल्न टाढा–टाढाबाट पनि आउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×