
विराटनगर । विराटनगरमा तास खेल्दै गरेको अवस्थामा सोमबार राति पक्राउ परेकामध्ये एक जना हिरासतमै अचेत अवस्थामा भेटिएका छन् ।
पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएका विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय बलराम कोइराला हिरासतभित्रै बेहोस अवस्थामा फेला परेका हुन् । विराटनगर–६ सरोचियास्थित लालु पासवानको घरमा तास खेल्दै गरेका बेला कोइरालासहित आठ जनालाई प्रहरीले राति ११ः३० बजेतिर पक्राउ गरेको थियो ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो । हिरासतमा सँगै रहेका साथीहरुले मंगलबार बिहान ७ः३० बजेतिर चिया खान उठाउँदा नबोलेपछि कोइरालालाई तत्काल उपचारका लागि कोशी अस्पताल पठाइएको थियो ।
कोशीमा सम्भव नभएपछि थप उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको छ । नोबेलमा गम्भीर अवस्थामा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उपचारमा संलग्न चिकित्सकले अवस्था चिन्ताजनक रहेको जानकारी दिएका छन् । प्रहरीले घटनाका बारेमा कोइरालाको परिवारका सदस्य र आफन्तलाई जानकारी दिइसकेको छ ।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले घटनाका बारेमा थाहा पाउनसाथ कोइरालालाई उपचारका लागि लगिएको जानकारी दिए । ‘तास खेल्दै गरेका बेला पक्राउ गरिएका सबैलाई एउटै हिरासतमा सँगै राखिएको थियो । बिहान चिया खानलाई साथीहरुले उठाउँदा नउठेपछि कोइरालालाई तत्काल उपचारका लागि अस्पताल लगियो । अहिले अचेत अवस्थामै उपचार जारी छ,’ उनले भने ।
चिकित्सकका अनुसार दुर्घटनामा परेर यसअघि नै कोइरालाको टाउकाको शल्यक्रिया भएको पाइएको छ । उनी यसअघि पनि तास खेल्दै गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ । कोइराला बेहोस हुनुको कारण पत्ता लाग्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको डीएसपी मिश्रले बताए ।
प्रहरीको गस्ती टोलीलाई देखेपछि लालु पासवानको घरमा तास खेलिरहेकाहरु भागेका थिए । रातको समयमा होहल्ला गर्दै केही व्यक्ति भागभाग गरिरहेको देखेपछि घटनास्थल पुगेर प्रहरीले तास खेलिरहेका आठ जनालाई पक्राउ गरेको थियो ।
प्रहरीबाट उम्किने क्रममा घरको दुई तला माथिदेखि हामफाल्दा विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखियाको दाहिने खुट्टा भाँचिएको छ । घरबाट जमिनमा खस्दा खुट्टा भाँचिएका उनको विराटनगरस्थित श्री अस्पतालमा उपचार भइरहेको छ । एम्बुलेन्स चालक रहेका उनको भने अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन् ।
कोइराला र मुखियासँगै मोरङको धनपालथान गाउँपालिका–६ का ३३ वर्षीय साजन राजवंशी, विराटनगर–४ का ५२ वर्षीय सत्यनारायण राजवंशी, ४८ वर्षीय तोरण यादव, विराटनगर–६ का २६ वर्षीय राजेश कामत, ५३ वर्षीय गंगाराम मण्डल र ४३ वर्षीय विष्णु कामत पक्राउ परेका थिए । पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
पक्राउ परेकाको साथबाट तासका साथै नगद ४८ हजार ३ सय ९५ रुपैयाँ बरामद डीएसपी मिश्रले बताए । उनका अनुसार कोइराला र मुखियाको उपचार जारी छ भने अन्य छ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।
विराटनगरमा तासको खाल : प्रहरीलाई देखेपछि भागदौड, दुई तलाबाट हामफाल्दा घाइते

























