चाडपर्वमा यात्रु ठगिए प्रहरीको साथ, मोरङसहित कोशीका ४८ स्थानमा यात्रु सहायता कक्ष

Share this
708shares
मुलुकी खबर
पवन भण्डारी
clock२०८३ आश्विन १६, शुक्रबार १३:१७

विराटनगर । दसैं, तिहार र छठलगायतका चाडपर्वमा घर फर्किने यात्रुको चाप बढेसँगै मोरङसहित कोशी प्रदेशमा सार्वजनिक यातायातलाई सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन प्रहरीले निगरानी बढाएको छ ।

यात्राका क्रममा हुन सक्ने बढी भाडा असुली, टिकटमा ठगी, दुर्व्यवहार र अन्य समस्याको तत्काल सुनुवाइ एवं समाधानका लागि मोरङका विभिन्न १० स्थानसहित कोशी प्रदेशका ४८ वटा स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । मोरङमा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त पहलमा स्थापना गरिएको सहायता कक्षको शुक्रबार विराटनगर बसपार्कमा कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालले उद्घाटन गरे ।

चाडपर्वका बेला यात्रुले समस्या पर्दा प्रहरी कार्यालय खोज्दै भौंतारिनुपर्ने अवस्था अन्त्य गर्दै घटनास्थलमै गुनासो सुन्ने र तत्काल सम्बोधन गर्ने उद्देश्यले सहायता कक्ष सञ्चालन गरिएको खनालले बताए । उद्घाटन कार्यक्रममा बोल्दै डीआईजी खनालले सार्वजनिक यातायातमा बढी भाडा लिने, यात्रुलाई ठगी गर्ने, दुर्व्यवहार गर्ने वा अन्य कुनै समस्या सिर्जना भए सहायता कक्षमा रहेका प्रहरी तथा यातायात व्यवसायीका प्रतिनिधिलाई जानकारी गराउन आग्रह गरे ।

यात्रुको गुनासो सुन्ने मात्रै नभई तत्काल समाधानका लागि प्रहरी सक्रिय हुनुपर्नेमा जोड दिँदै उनले चाडपर्वका बेला यात्रुलाई कुनै पनि बहानामा दुःख दिन नहुने बताए । ‘यात्राका क्रममा समस्या परेपछि प्रहरी कार्यालय खोज्दै हिँड्नुपर्ने अवस्था आउने छैन । सहायता कक्षबाटै यात्रुका गुनासा सुन्ने र तत्काल समाधान गर्ने व्यवस्था मिलाइएको छ,’ उनले भने ।

चाडपर्वलाई शान्तिपूर्ण र उल्लासमय बनाउन जुवातास, मादक पदार्थ सेवन तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रणमा प्रहरी सक्रिय रहेको उल्लेख गर्दै डीआईजी खनालले सार्वजनिक स्थलमा कुनै गडबडी देखिए तत्काल प्रहरीलाई खबर गर्न सर्वसाधारणसँग आग्रह गरे । बसपार्कलगायतका सार्वजनिक स्थल संवेदनशील क्षेत्र भएकाले त्यहाँ प्रहरीको प्रभावकारी उपस्थिति आवश्यक रहेको उनको भनाइ थियो ।

सडक यात्रालाई सहज बनाउने, ट्राफिक नियमको पालना गराउने र यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्न यातायात व्यवसायी, मजदुर, प्रहरी तथा अन्य सरोकारवालाबीच समन्वय हुनुपर्ने उनले बताए । बाढीपहिरोका कारण सडक यात्रा प्रभावित भइरहे पनि सबै पक्षको सहकार्यमा चाडपर्वलाई सुरक्षित र हर्षोल्लासपूर्ण बनाउनुपर्नेमा डीआईजी खनालको जोड थियो ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले चाडपर्वमा सार्वजनिक यातायातमा यात्रुले भोग्नुपर्ने समस्यालाई मध्यनजर गर्दै सवारीसाधनमाथि निगरानी बढाइएको बताए । उनका अनुसार बढी भाडा असुली, यात्रुलाई जथाभावी तानातान गर्ने, सामानको सुरक्षा नगर्ने, आरक्षण सिट कार्यान्वयन नगर्ने तथा क्षमताभन्दा बढी यात्रु राख्ने समस्या चाडपर्वका बेला बढी देखिने गरेका छन् ।

यात्रुमाथि अमर्यादित व्यवहार गर्ने, गन्तव्यसम्म नपुर्‍याउने, एउटै सिटमा एकभन्दा बढी यात्रुलाई टिकट काट्ने, मापदण्डविपरीत सवारी सञ्चालन गर्ने तथा यात्रुलाई अलपत्र पार्ने गतिविधि पनि प्रहरीको निगरानीमा रहेको एसपी कटवालले बताए । अस्वस्थकर खाना खान बाध्य पार्ने, गैरकानुनी रूपमा वस्तु तथा सेवा बिक्री गर्ने र अन्य तरिकाले यात्रुलाई मर्कामा पार्ने गतिविधि रोक्न प्रहरी परिचालन गरिएको कटवालको भनाइ छ ।

‘यात्रुमैत्री व्यवहार नगर्ने र यात्रुलाई अनावश्यक दुःख दिनेले उन्मुक्ति पाउने छैनन् । त्यस्ता गतिविधिमा संलग्नलाई तत्काल कारबाहीको दायरामा ल्याइनेछ,’ उनले भने । मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले यात्रुको चापलाई व्यवस्थित गर्दै सहज, सुरक्षित र भरपर्दो यात्रा सुनिश्चित गर्न सहायता कक्ष स्थापना गरिएको बताए ।

यातायात व्यवसायी र ट्राफिक प्रहरीको सक्रियतामा स्थापना गरिएका कक्षलाई प्रभावकारी बनाउन प्रहरी परिचालन गरिएको जानकारी उनले दिए । यात्राका क्रममा कुनै समस्या आए तत्काल सहायता कक्ष, ट्राफिक प्रहरी वा नजिकको सुरक्षा निकायमा जानकारी गराउन उनले यात्रुलाई आग्रह गरे ।

यातायात व्यवसायीलाई यात्रुको सुरक्षा र सुविधालाई पहिलो प्राथमिकतामा राखेर सवारी सञ्चालन गर्न अनुरोध गरिएको न्यौपानेले बताए । विराटनगरको कार्यक्रममा नेपाल प्रहरीका एसपीहरु कवित कटवाल, नारायणप्रसाद चिमरिया, मानबहादुर राई, डीएसपीहरु सन्तोष श्रेष्ठ, लोकेन्द्रसिंह गुरुसहितका प्रहरी अधिकृत एवं प्रहरी कर्मचारी र यातायात क्षेत्रका प्रतिनिधिहरु लगायतको उपस्थिति थियो ।

यसैबीच, सुनसरीको इटहरीमा पनि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । इटहरी बसपार्कमा स्थापना गरिएको कक्षले चाडपर्वमा घर फर्किने तथा गन्तव्यतर्फ जाने यात्रुका गुनासा सुन्ने र सार्वजनिक यातायातसँग सम्बन्धित समस्याको तत्काल समाधानमा सहजीकरण गर्नेछ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी दीपक गिरीका अनुसार सार्वजनिक यातायातमा बढी भाडा असुली, टिकटमा ठगी र यात्रुमाथि दुर्व्यवहारजस्ता समस्या हुन नदिन सहायता कक्ष स्थापना गरिएको हो । ‘यात्रु सहायता कक्षमार्फत यात्राका क्रममा सर्वसाधारणलाई आइपर्ने समस्या तथा सार्वजनिक यातायातसँग सम्बन्धित गुनासाहरू सम्बोधन गरिनेछ । यसबाट चाडपर्वका समयमा यात्रुलाई सुरक्षित र सहज रूपमा गन्तव्यसम्म पुग्न सहयोग पुग्नेछ,’ उनले भने ।

एसपी गिरीका अनुसार चाडपर्वलाई लक्षित गरी कोशी प्रदेशका १४ वटै जिल्लामा यात्रु सहायता कक्ष स्थापना गरेर सञ्चालनमा ल्याइएको छ । प्रदेशका विभिन्न ४८ स्थानमा कक्षा स्थापना गरेर सञ्चालनमा ल्याइएको छ । भारतसँग जोडिएका चार प्रमुख नाकालाई केन्द्रित गरेर छुट्टै सहायता कक्ष स्थापना गरिएको उनले बताए । इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, विराटनगरको रानी र सुनसरीको कोशी कटानमा रहेका कक्षले भारतबाट आउने यात्रुलाई समेत सहजीकरण गर्नेछन् ।

चाडपर्व मनाउन मुलुकका विभिन्न स्थानबाट सार्वजनिक सवारी प्रयोग गरी आवतजावत गर्ने यात्रुको सुरक्षा र सुविधालाई ध्यानमा राखेर सडकमा निगरानी बढाइएको प्रहरीले जनाएको छ । बाढीपहिरोका कारण सडक यात्रा सहज नरहे पनि क्रमशः अवस्था सुधार हुँदै जाने अपेक्षा गरिएको एसपी गिरीले बताए ।

‘चाडपर्वमा सवारीसाधनमा यात्रुको चाप धेरै हुन्छ । सहायता कक्षले सर्वसाधारणको यात्रालाई सहज, सुरक्षित एवं भरपर्दो बनाउन, यात्रुमैत्री वातावरण तयार पार्न तथा सार्वजनिक सवारीलाई नियमन र निगरानी गर्न सहज बनाउनेछ,’ उनले भने ।

यातायात व्यवसायीहरूले पनि यात्रुमैत्री सेवा प्रवाहका लागि व्यवसायी तथा मजदुर प्रतिबद्ध रहेको बताएका छन् । सार्वजनिक सवारीसाधन र बसपार्कलगायतका स्थलमा हुने गलत गतिविधि रोक्न प्रहरीको सक्रियता आवश्यक रहेको उनीहरूको भनाइ छ ।

यात्रुको सुरक्षा र सुविधालाई साझा जिम्मेवारीका रूपमा लिएर प्रहरी, व्यवसायी, मजदुर र यात्रु सबैको सहकार्यमा गलत काम तथा दुर्व्यवहार नियन्त्रण गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन् । चाडपर्वमा यात्रुको बढ्दो चापसँगै सार्वजनिक यातायातमा देखिन सक्ने बेथिति नियन्त्रण, यात्रुको गुनासोको तत्काल सुनुवाइ र सुरक्षित आवागमन सुनिश्चित गर्ने जिम्मेवारी सहायता कक्षको प्रभावकारितासँग जोडिएको छ ।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद, क्षेत्रीय सभापतिसहित वडा सभापति बहिष्कारमा
कांग्रेस महाधिवेशन उद्घाटन गर्न देउवालाई निमन्त्रणा
निजामती विधेयकमा महिनावारी बिदासहितको नयाँ प्रस्ताव
टिपरको ठक्करले एक जनाको मृत्यु
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रधानमन्त्री शाहको कार्यशैलीप्रति प्रचण्डको असन्तुष्टि
चाडपर्वमा यात्रु ठगिए प्रहरीको साथ, मोरङसहित कोशीका ४८ स्थानमा यात्रु सहायता कक्ष
आईसीसी लिग–२ का लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा
आईसीसी लिग–२ का लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा
दुई छोरा १५ वर्षदेखि सम्पर्कविहीन, पाँच नातिनातिनाको जिम्मेवारी वृद्ध दम्पतीको काँधमा
कांग्रेसको युवा कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने सुविनको तयारी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×