
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा पछिल्लो डेढ महिनामा भएका १५ वटा मुख्य काम सार्वजनिक गरिएको छ । आज (शुक्रबार) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत भदौ ५ गतेयताका उपलब्धिहरू सार्वजनिक गरिएको हो ।
प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै जलवायु परिवर्तन र भोटेकोसी बाढीले पारेको असरबारे विश्व समुदायको ध्यानाकर्षण गराएका छन् । सरकारले चाडपर्व र मनसुनलाई लक्षित गर्दै सडक यातायात सुचारु राख्न र बजार अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । यसका साथै, प्रधानमन्त्रीले निजी क्षेत्रका विभिन्न महासंघहरूसँग छलफल गरी विकास निर्माणका काममा सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रशासनिक सुधारतर्फ, प्रधानमन्त्री कार्यालयका सचिव र महाशाखा प्रमुखहरूबीच कार्यसम्पादन सम्झौता भएको छ भने ‘सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने नियमावली, २०८३’ स्वीकृत गरिएको छ । यसले सरकारी कामलाई कागजरहित र पारदर्शी बनाउने लक्ष्य राखेको छ ।
विपद् व्यवस्थापनका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १६ अर्ब २८ करोड ३१ लाख रुपैयाँ जम्मा भएको र त्यसमध्ये १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ । रसुवाको बाढीपछिको क्षति मूल्यांकन (पीडीएनए) को काम पनि भइरहेको छ ।
त्यस्तै, ‘हेलो सरकार’ मा आएका १७ हजार ३९७ गुनासामध्ये ६ हजार ८३७ फछ्र्यौट भएका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले १५ वटा फर्मलाई कालोसूचीमा राखेको छ । सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयले सरकारी निकायको डेटा म्यापिङ र नेपाल इन्टरप्राइज आर्किटेक्चर फ्रेमवर्कको काम अघि बढाएको छ । नीति अनुसन्धान प्रतिष्ठानले जलवायु परिवर्तनसम्बन्धी १९ वटा अनुसन्धान प्रतिवेदन तयार गरेको छ ।



















