
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टीभित्र आन्तरिक विवाद भए पनि कांग्रेस विभाजन नभएको दाबी गरेका छन् । शनिबार महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दै शर्माले पार्टीभित्रको विवाद समाधान गर्नु आफूहरूको जिम्मेवारी भएको बताए ।
महामन्त्रीमा निर्वाचित भए आफ्नो पहिलो प्राथमिकता पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्ने रहेको उनले बताए । कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउन आफू महामन्त्रीमा उम्मेदवार बनेको उनको भनाइ छ । शर्माले आफू ‘प्रो–कोइराला’ रहेको पनि स्पष्ट पारे । आफू बीपी कोइरालाको अनुयायी र गिरिजाप्रसाद कोइरालाको कार्यकर्ता भएको बताउँदै उनले मोरङवासी भएकाले कोइराला विचारसँग नजिक हुनु स्वाभाविक भएको बताए ।
‘म बीपी कोइरालाको अनुयायी र गिरिजाबाबुको कार्यकर्ता हुँ । मोरङमा बस्ने मान्छेहरू प्रो–कोइराला नै हुन्छन्, म पनि प्रो–कोइराला नै हुँ । यो स्वीकार्न मलाई लाज छैन,’ उनले भने । कांग्रेसको स्थापना र राजनीतिक विरासतमा कोइराला परिवारको योगदान रहेको उल्लेख गर्दै शर्माले पार्टीको खस्किएको छवि सुधार्न र विरासत जोगाउन आफ्नो उम्मेदवारी रहेको बताए ।
लोकतान्त्रिक पार्टीमा सामान्य विवाद र मतभेद भइरहने उल्लेख गर्दै शर्माले त्यसलाई व्यवस्थापन गरेर पार्टीलाई एकताबद्ध बनाउनु नेतृत्वको दायित्व भएको बताए । सभापति पदमा कसलाई समर्थन गर्ने भन्नेबारे भने शर्माले अहिले नै निर्णय भइनसकेको बताए। सभापतिका आकाङ्क्षीहरूले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेपछि मात्रै आफ्नो धारणा सार्वजनिक गर्ने उनको भनाइ छ ।
गत वर्षको जेनजी आन्दोलनको भावना, युवाका विचार र लोकतन्त्रको संरक्षणलाई अघि बढाउन सक्ने युवा उम्मेदवारलाई आफ्नो समर्थन रहने शर्माले बताए । ‘जेनजी मुभमेन्टको सेन्टिमेन्ट बोक्न सक्ने र लोकतन्त्र बचाउन सक्ने युवा उम्मेदवारलाई समर्थन रहन्छ,’ उनले भने, ‘उम्मेदवारी नै घोषणा नभई नाम भन्न मिल्दैन ।’

























