मोरङ–३ बाट सर्वाधिक मतसहित डा. सुनील शर्मा महाधिवेशन प्रतिनिधिमा निर्वाचित

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १६, शुक्रबार १७:३५

विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ३ बाट डा. सुनीलकुमार शर्मा सर्वाधिक मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

क्षेत्रीय अधिवेशनबाट ६४८ मत प्राप्त गर्दै शर्मा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । सर्वाधिक मत प्राप्त गरेपछि शर्माले आफूलाई विश्वास गरेर मत दिने सम्पूर्ण क्रियाशील सदस्य, नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गरेका छन् ।

निर्वाचन परिणामपछि प्रतिक्रिया दिँदै शर्माले कांग्रेसभित्रको आन्तरिक प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासका रूपमा लिनुपर्ने बताएका छन् । महाधिवेशनका क्रममा आफ्नै अग्रज, साथीभाइ, सहकर्मी र कार्यकर्ताबीच प्रतिस्पर्धा भए पनि त्यसले पार्टीको एकता र सम्बन्धमा कुनै असर नपर्ने उनको विश्वास छ ।

‘कांग्रेस हाम्रो घर हो, हामी सबै परिवारका सदस्य हौँ । लोकतान्त्रिक पद्धतिमा चुनावी हारजित स्वाभाविक हो । हारजितले पार्टीमा कुनै पनि प्रकारको विचलन, विखण्डन र मनमुटाव उत्पन्न गर्ने छैन भन्नेमा म विश्वस्त छु,’ शर्माले भनेका छन् ।

उनले मोरङ क्षेत्र नम्बर ३ मा सम्पन्न वडा, गाउँ/नगर, प्रदेशसभा क्षेत्रीय तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट निर्वाचित सबै सभापति, पदाधिकारी तथा कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । शर्माले क्षेत्रका सबै क्रियाशील सदस्य, नेता तथा कार्यकर्तालाई उच्च मनोबलका साथ पार्टीको प्रतिष्ठा थप उचाइमा पुर्‍याउन एकजुट भएर लाग्न आग्रह गरेका छन् ।

आगामी केन्द्रीय महाधिवेशनबाट नेपाली कांग्रेसले सशक्त नेतृत्व प्रदान गर्ने विश्वास व्यक्त गर्दै उनले महाधिवेशन प्रतिनिधिहरूलाई अब केन्द्रीय महाधिवेशनमा केन्द्रित हुनसमेत अनुरोध गरेका छन् । ‘कांग्रेस एक ढिक्का थियो, छ र भविष्यमा पनि एक ढिक्का रहनेछ, शर्माले आफ्नो सन्देशमा उल्लेख गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×