अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूलीमा खोज तथा उद्धार स्थगित

Share this
753shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १९, सोमबार १४:३८

काठमाडौं । सरकारले भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार कार्य अत्यावश्यकबाहेक हालका लागि स्थगित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको अध्यक्षतामा आज (सोमबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले अत्यावश्यक खोज तथा उद्धारसँगै पुनर्निर्माण र पुनर्स्थापनाको कामलाई तीव्रता दिने निर्णय गरेको हो ।

जिल्ला सुरक्षा समिति, जिल्ला विपद् व्यवस्थापन समिति, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति तथा स्थलगत अवलोकनबाट प्राप्त सिफारिसका आधारमा खोज तथा उद्धार कार्यलाई हालका लागि स्थगित गर्ने निर्णय गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकले प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रुपैयाँ बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

सचिवालयका अनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ बमोजिम स्वीकृत योजनाका लागि अर्थ मन्त्रालयमार्फत स्रोत व्यवस्थापन गरिनेछ । लागत अनुमान नखुलेका तथा प्राथमिकीकरण हुन बाँकी आयोजनाको विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिइएको छ ।

बैठकमा प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनको काम संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा भइरहेको उल्लेख गर्दै अब पुनर्निर्माण र पुनर्स्थापनाको काम पनि सोही समन्वयमा अघि बढाइने बताए ।

बैठकमा सहभागी विपक्षी दलका नेता तथा नेपाली कांग्रेसका संसदीय दलका नेता र बागमती, गण्डकी, मधेश तथा कोशी प्रदेशका मुख्यमन्त्रीहरूले पुनर्निर्माण र पुनर्स्थापनाको काममा सरकारलाई पूर्ण साथ दिने प्रतिबद्धता जनाएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×