अब व्यवहार बदल्ने बेला

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १९, सोमबार १६:००

नेपाली राजनीतिमा ‘आत्मसमीक्षा’ अहिले सबैभन्दा धेरै दोहोरिने शब्दमध्ये एक बनेको छ । राजनीतिक दलहरू पराजयपछि आत्मसमीक्षा गर्छन्, आन्दोलनपछि आत्मसमीक्षा गर्छन्, नेतृत्वको आलोचना भएपछि आत्मसमीक्षा गर्छन् । प्रतिवेदन लेखिन्छन्, कमजोरी पहिचान गरिन्छन् र सुधारका प्रतिबद्धता दोहोरिन्छन् । तर नागरिकले खोजिरहेको प्रश्न भने एउटै छ- आत्मसमीक्षा भयो, त्यसपछि व्यवहारचाहिँ बदलियो कि बदलिन ?

जेनजी आन्दोलनले नेपाली राजनीतिको यही कमजोर पक्षलाई सतहमा ल्याइदिएको हो । सडकमा आएका युवाले केवल सरकार वा कुनै एउटा दलप्रति असन्तुष्टि पोखेका थिएनन् । उनीहरूको आक्रोशको केन्द्रमा पुरानो राजनीतिक कार्यशैली, जवाफदेहिताको अभाव, अवसरको असमानता, भ्रष्टाचार, बेरोजगारी र राज्य संयन्त्रप्रतिको अविश्वास थियो । आन्दोलनले दलहरूलाई एउटा गम्भीर सन्देश दिएको थियो- अब पुरानै शैलीबाट राजनीति चल्दैन ।

तर आन्दोलनपछि पनि राजनीतिक दलहरूको प्राथमिकता हेर्दा प्रश्न उठ्छ- त्यो सन्देश कति गहिरोसँग बुझियो ? नेतृत्व फेरबदल, संगठन पुनर्गठन र नयाँ घोषणापत्र तयार गर्नु परिवर्तनको सुरुआत हुन सक्छ, तर यही नै परिवर्तनको प्रमाण भने होइन । नागरिकले खोजेको परिवर्तन नेताको अनुहारमा मात्र होइन, निर्णय गर्ने शैलीमा हो, भाषणमा होइन, शासन सञ्चालनमा हो ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पार्टीको आगामी दिशा, वैचारिक पुनर्व्याख्या र संगठनात्मक सुधारबारे बहस भइरहेको छ । सभापति गगन थापाको राजनीतिक प्रतिवेदनमा समेत विगतको राजनीतिक अभ्यास, सत्ता–केन्द्रित प्रवृत्ति, संगठनात्मक कमजोरी र युवा पुस्तासँग बढेको दूरीबारे आत्मसमीक्षा गरिएको छ । यो सकारात्मक सुरुआत हो । कांग्रेसका लागि मात्र होइन, सबै दलका लागि असली परीक्षा प्रतिवेदनमा लेखिएको कुरा व्यवहारमा कति लागू हुन्छ भन्ने हो ।

राजनीतिक दलहरू निर्वाचन जित्ने संगठन मात्र होइनन् । उनीहरू लोकतन्त्रका आधारभूत संस्था हुन् । त्यसैले उनीहरूको आन्तरिक लोकतन्त्र कमजोर हुँदा समग्र लोकतन्त्र कमजोर हुन्छ । नेतृत्व केही व्यक्तिको वरिपरि केन्द्रित हुँदा संगठन कमजोर हुन्छ । पार्टीभित्र प्रश्न गर्ने ठाउँ साँघुरिँदा बाहिरका नागरिकका प्रश्न सुन्ने क्षमता पनि कमजोर हुँदै जान्छ । अनि नागरिक र राजनीतिक दलबीचको दूरी बढ्दै जान्छ ।

अहिलेको पुस्ता पुरानो शैलीको राजनीति स्वीकार गर्न तयार छैन । उसलाई राजनीतिक दलले वर्षौं पुराना उपलब्धिको सूची सुनाएर मात्र विश्वास दिलाउन सक्दैनन् । उसले रोजगारी खोज्छ, गुणस्तरीय शिक्षा खोज्छ, सहज सार्वजनिक सेवा खोज्छ, भ्रष्टाचारमुक्त शासन खोज्छ र आफ्नो मतको सम्मान खोज्छ । सबैभन्दा महत्वपूर्ण कुरा, उसले नेताबाट जवाफ माग्छ । सामाजिक सञ्जालमा प्रश्न गर्ने पुस्तालाई परम्परागत भाषणले चित्त बुझाउने समय सकिएको छ ।

यसकारण दलहरूको आत्मसमीक्षा अब दस्तावेजमा सीमित हुनु हुँदैन । उम्मेदवार छनोटदेखि नेतृत्व निर्माणसम्म, पार्टीको आर्थिक पारदर्शितादेखि सार्वजनिक जवाफदेहितासम्म र सत्तामा हुँदा गरिने निर्णयदेखि प्रतिपक्षमा हुँदा निभाइने भूमिकासम्म परिवर्तन देखिनुपर्छ । जनप्रतिनिधिले आफ्नो कार्यसम्पादनबारे नागरिकलाई जवाफ दिनुपर्ने संस्कार बस्नुपर्छ । पार्टीभित्र असहमति राख्नेलाई विरोधी ठान्ने प्रवृत्ति अन्त्य हुनुपर्छ ।

राजनीतिमा पुस्तान्तरणको बहस पनि अनुहार परिवर्तनमा सीमित हुनु हुँदैन । नयाँ पुस्ता राजनीतिमा आउनु भनेको पुरानो शैलीलाई नयाँ पुस्ताले निरन्तरता दिनु होइन । नयाँ पुस्ताले नयाँ प्रश्न, नयाँ कार्यशैली र नयाँ जवाफदेहिता पनि ल्याउनुपर्छ । नत्र उमेर फेरिए पनि राजनीति उस्तै रहन्छ ।

अहिलेको सबैभन्दा ठूलो आवश्यकता अर्को ठूलो राजनीतिक नारा होइन, नागरिकको विश्वास पुनःनिर्माण गर्नु हो । त्यो विश्वास भाषणले होइन, साना–साना कामबाट फर्किन्छ । समयमै सेवा दिएर, भ्रष्टाचारमा सम्झौता नगरेर, सार्वजनिक स्रोतको हिसाब दिएर, गल्ती स्वीकार गरेर र नागरिकप्रति जवाफदेही बनेर फर्किन्छ ।

जेनजी आन्दोलनले राजनीतिक दलहरूलाई एउटा ऐना देखाएको छ । त्यो ऐनामा देखिएको अनुहार मन नपर्न सक्छ, तर ऐना फुटाएर समस्या समाधान हुँदैन । अब दलहरूले ऐनामा देखिएको कमजोरी सच्याउनुपर्छ । आत्मसमीक्षाका प्रतिवेदन थपिँदै जाने तर व्यवहार नबदलिने हो भने नागरिकको निराशा झन् गहिरिनेछ ।

त्यसैले अब राजनीतिक दलहरूलाई आत्मसमीक्षाको अर्को दस्तावेजभन्दा आत्मसमीक्षाको परिणाम देखाउनुपर्ने समय आएको छ । नागरिकले सुन्न चाहेको अर्को प्रतिबद्धता होइन, परिवर्तनको अनुभूति हो । राजनीति बदलिएको प्रमाण भाषणमा होइन, नागरिकको दैनिक जीवनमा देखिनुपर्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×