
काठमाडौं । यस वर्षको दसैँमा घर जाने यात्रुका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ । यातायात व्यवस्था विभागमा आज (मंगलबार) नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला, विभागका महानिर्देशक राजीव पोखरेललगायत पदाधिकारीबीच भएको बैठकले असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।
बैठकपछि महानिर्देशक पोखरेलले दसैँमा यात्रुको सहज, सुरक्षित र व्यवस्थित आवागमन सुनिश्चित गर्न अग्रिम टिकट बुकिङ खुला गर्न लागिएको जानकारी दिए । उनका अनुसार दसैँका लागि यातायात व्यवस्थापनको आवश्यक तयारी भइरहेको छ ।
दसैँको समयमा राजधानीबाट विभिन्न जिल्लातर्फ जाने यात्रुको चाप बढ्ने भएकाले अग्रिम टिकट बुकिङ, सवारीसाधनको व्यवस्थापन तथा यात्रु सेवासम्बन्धी तयारीलाई प्राथमिकता दिइएको विभागले जनाएको छ ।
यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुग्ने वातावरण बनाउन सम्बन्धित निकाय, यातायात व्यवसायी तथा सुरक्षा निकायसँग आवश्यक समन्वय भइरहेको पोखरेलले बताए ।
यात्रुको चापलाई मध्यनजर गर्दै यातायात सेवा व्यवस्थित र सुरक्षित बनाउन आवश्यक व्यवस्था मिलाइने उनले जानकारी दिए । दसैँमा यात्रुलाई अनावश्यक दुःख नहोस्, टिकट पाउन समस्या नहोस् र सुरक्षित रूपमा यात्रा गर्न सकून् भन्ने उद्देश्यले अग्रिम टिकट बुकिङ तथा यातायात व्यवस्थापनको तयारी अघि बढाइएको विभागले जनाएको छ।

























