
काठमाडौं । नेपाल टेलिकमले आफ्नो सेवा प्रयोग गरी अन्तर्राष्ट्रिय कल गर्दा लाग्ने पल्स अवधि ३० सेकेन्डबाट बढाएर ६० सेकेन्ड कायम गरेको छ । नयाँ व्यवस्था मंगलबारदेखि सबै देशमा लागू भएको छ ।
टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणको गत भदौ २४ गतेको निर्णयअनुसार प्राप्त स्वीकृतिका आधारमा पल्स अवधि परिवर्तन गरिएको हो । दूरसञ्चार ऐन, २०५३ को दफा ४२ बमोजिम प्राधिकरणले दिएको स्वीकृतिअनुसार अब सबै देशका दूरसञ्चार सेवा प्रदायकको सञ्जालमा कल गर्दा ६० सेकेन्डका आधारमा शुल्क गणना हुनेछ ।
यसअघि २०८२ फागुन १ गतेको निर्णयअनुसार ५८ देशमा ६० सेकेन्डको पल्स अवधि लागू गरिएको थियो । अब बाँकी देशमा पनि नयाँ व्यवस्था लागू गरिएको टेलिकमले जनाएको छ ।
टेलिकमले विभिन्न देशमा अन्तर्राष्ट्रिय कल गर्न छुट्टाछुट्टै पहुँच सङ्केत (एक्सेस कोड) को व्यवस्था गरेको छ । कल गर्दा सुरुमा सम्बन्धित पहुँच सङ्केत र त्यसपछि देशको सङ्केत राखेर सेवा प्रदायकको नम्बर डायल गर्नुपर्नेछ ।
विभिन्न देशमा अन्तर्राष्ट्रिय कल गर्दा लाग्ने शुल्कबारे नेपाल टेलिकमको आधिकारिक वेबसाइटबाट जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।

























