
काठमाडौं । विद्यालय तहको शिक्षा निःशुल्क र प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । आधारभूत तहसम्म अनिवार्य तथा निःशुल्क र माध्यमिक तहसम्म निःशुल्क शिक्षा पाउने मौलिक हक कार्यान्वयनको मागसहित अधिवक्ता अनिल आचार्यसहितले रिट दर्ता गरेका हुन् । रिटमाथि प्रारम्भिक सुनुवाइका लागि बुधबार पेसी तोकिएको छ ।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई विपक्षी बनाइएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका प्रधान कार्यालयसहित सैनिक आवासीय महाविद्यालय, नेपाल पुलिस स्कुल, नेपाल एपीएफ स्कुल र बुढानीलकण्ठ स्कुललाई पनि विपक्षी बनाइएको छ ।
संविधानको धारा ३१ ले आधारभूत तहसम्म अनिवार्य तथा निःशुल्क र माध्यमिक तहसम्म निःशुल्क शिक्षाको हक सुनिश्चित गरे पनि कार्यान्वयन नभएको निवेदकहरूको दाबी छ। निःशुल्क शिक्षासम्बन्धी कानुनी व्यवस्था लागू भए–नभएकोबारे सम्बन्धित निकायसँग लिखित जानकारी माग्दा जवाफ नपाएको पनि रिटमा उल्लेख छ ।
अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ ले कुनै पनि शीर्षकमा शुल्क नलिई दिइने शिक्षालाई निःशुल्क मानेको छ । तर सुरक्षा निकायका कल्याणकारी कोषबाट सञ्चालित विद्यालय, बुढानीलकण्ठ स्कुल तथा नमुना, सामुदायिक र संस्थागत विद्यालयले विभिन्न शीर्षकमा शुल्क लिइरहेको विषय रिटमा उठाइएको छ । विद्यालय शिक्षा स्थानीय तहको एकल अधिकारभित्र पर्ने संवैधानिक र कानुनी व्यवस्थालाई पनि निवेदकहरूले आधार बनाएका छन् ।
नयाँ शैक्षिक सत्र २०८४ वैशाख सुरु हुन केही महिना मात्र बाँकी रहेकाले अन्तिम फैसला नआउँदासम्म तत्काल अन्तरिम आदेश जारी गर्न निवेदकहरूले माग गरेका छन् । साथै, मुद्दालाई अग्राधिकार दिएर प्राथमिकताका साथ सुनुवाइ गर्न पनि अदालतसमक्ष आग्रह गरिएको छ ।

























