
सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।
सुर्खेतको वीरेन्द्रनगर रंगशालामा मंगलबार भएको खेलमा आर्मीले कोशी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको कोशीले सबै विकेट गुमाएर ६५ रन बनाएको थियो । कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३६ रन बनाइन् । उनले ३६ बलमा एक छक्का र पाँच चौका प्रहार गरिन् ।
आर्मीका यमुना थारुले चार ओभरमा दुई मेडन राख्दै ६ रन खर्चेर चार विकेट लिइन् । मनिषा उपाध्यायले दुई तथा कविता कुँवर, ईश्वरी विष्ट, लक्ष्मी साउँद र सङ्गीता गुरुङले एक–एक विकेट लिए ।
६६ रनको लक्ष्य आर्मीले १३ दशमलव १ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । आर्मीका लागि विन्दु रावलले सर्वाधिक २१, रुवी पोद्दारले १८, कविता कुँवरले अविजित १२ र अञ्जली विश्वकर्माले सात रन बनाइन् ।
कोशीकी रुविना क्षेत्रीले तीन तथा एलिशा खादियाले एक विकेट लिए । खेलमा आर्मीकी यमुना थारु प्लेयर अफ द म्याच घोषित भइन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताका अनुसार प्रतियोगिताअन्तर्गत नेपालगन्जमा पौडी, बर्दियामा टेनिस तथा सुर्खेतमा पुरुष फुटबल, महिला बास्केटबल र महिला क्रिकेटका खेल सञ्चालन भइरहेका छन् ।

























