चिस्यान केन्द्र बनेपछि भोजपुरका किसानको उत्पादन भण्डार गर्न सहज

Share this
780shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २१, बुधबार १०:३३

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–१ नेपालेडाँडाका ७१ वर्षीय किसान जीवन थापाले कृषि उपज भण्डारणका लागि आफ्नै लगानीमा चिस्यान केन्द्र सञ्चालनमा ल्याएका छन् । व्यावसायिक कृषि गर्दै आएका थापाले उत्पादन गरेको उपज सुरक्षित राख्दै उचित समयमा बजारमा बिक्री गर्ने उद्देश्यले करिब १५ लाख रुपैयाँ खर्चेर चिस्यान केन्द्र निर्माण गरेका हुन् ।

कृषि उपज उत्पादनपछि तत्काल बिक्री गर्न नसक्दा बिग्रने र किसानले उचित मूल्य नपाउने समस्या समाधान गर्ने उद्देश्यले केन्द्र निर्माण गरिएको थापाले बताए। उनका अनुसार चिस्यान केन्द्रमा एकपटकमा करिब १० हजार किलोग्रामसम्म कृषि उपज भण्डारण गर्न सकिन्छ ।

ुकृषि उत्पादन गरेर मात्र हुँदैन । त्यसलाई सुरक्षित रूपमा भण्डारण गरेर उचित समयमा बिक्री गर्न सक्ने व्यवस्था पनि आवश्यक हुन्छ,ु थापाले भने, ुकेन्द्र सञ्चालनमा आएपछि उत्पादनको गुणस्तर जोगाउन र बजार व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरेको छु ।ु

थापा २०७६ सालदेखि व्यावसायिक रूपमा कृषि क्षेत्रमा लागेका हुन् । स्थानीयस्तरमा उत्पादन हुने विभिन्न प्रकारका कृषि उपज सुरक्षित राख्न सकिने गरी उनले चिस्यान केन्द्र निर्माण गरेका हुन् । केन्द्र सञ्चालनमा आएपछि किसानले उत्पादन गरेको उपज तत्कालै बिक्री गर्नुपर्ने बाध्यता केही कम हुने उनको विश्वास छ ।

चिस्यान केन्द्रमा मौसमअनुसार कृषि उपज भण्डारण गरेर बेमौसममा तुम्लिङटार, धरान, इटहरी र विराटनगरलगायतका सहरमा लगेर बिक्री गर्दै आएको थापाले बताए । स्थानीयस्तरमा कृषि उपजको उत्पादन बढ्दै गए पनि भण्डारणको उचित व्यवस्था नहुँदा किसानले उत्पादनको उचित मूल्य पाउन नसक्ने अवस्था रहेको उनले बताए ।

उत्पादनलाई सुरक्षित राखेर बजारको माग र मूल्यअनुसार बिक्री गर्न सके किसानको आम्दानी बढाउन सहयोग पुग्ने थापाको भनाइ छ । उनका अनुसार उत्पादनको समय र बिक्रीको समयबीचको अन्तर व्यवस्थापन गर्न सक्दा किसानलाई बजारको उतारचढावबाट पनि केही राहत मिल्न सक्छ ।

आफ्नै लगानीमा निर्माण गरिएको चिस्यान केन्द्र स्थानीय किसानका लागि पनि उपयोगी हुने थापाले बताए । गाउँका इच्छुक किसानले आफ्ना कृषि उपज ल्याएर केन्द्रमा भण्डारण गर्न सक्ने उनले जानकारी दिए ।

यसबाट उत्पादनपछिको क्षति घटाउनुका साथै किसानलाई उपजको उचित मूल्यका लागि पर्खिन सक्ने अवस्था बन्ने र स्थानीयस्तरमा कृषि व्यवसायलाई थप व्यावसायिक बनाउन सहयोग पुग्ने थापाले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×