सांकेतिक फोटो ।विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित एन्फा एकेडेमी जाने बाटोबाट प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार मंगलबार राति करिब १०ः१० बजेतिर कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले शंकास्पद व्यक्तिहरूलाई चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा पक्राउ परेकाको साथबाट ट्रामोल ८ सय क्याप्सुल र डिकोलिक ८ सय ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–४ का २७ वर्षीय अर्जुन श्रेष्ठ, वडा नम्बर ७ का ३६ वर्षीय दीपक मगर र वडा नम्बर १५ का ३४ वर्षीय बाबुराम बयलकोटी रहेका छन् । उनीहरूलाई बरामद लागुऔषधसहित इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।

























