
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत आज (बुधबार) चौथो दिन बन्द सत्र सम्पन्न हुँदैछ । बन्द सत्रमा यसअघि पेस भएका विभिन्न प्रतिवेदनहरु पारित गरिने भएको छ ।
आजको बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधिहरूले सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारासम्बन्धी समसामयिक प्रस्ताव पारित हुने जनाइएको छ ।
यसैगरी, महामन्त्री गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदन पारित गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।
यसअघि गत सोमबारदेखि निरन्तर ती प्रतिवेदनहरूमाथि महाधिवेशन प्रतिनिधिहरूले विचार राखिरहेको सूचना, सञ्चार तथा प्रविधि समितिका सदस्य डा. सुरेश आचार्यले जानकारी दिए ।
छलफलमा सात प्रदेशका अतिरिक्त भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरू सहभागी भएका छन् । भोलि बिहीबारको सत्रको प्रारम्भमा पार्टी सभापति थापाले सम्बोधन गर्ने कार्यक्रम छ ।

























