नापीका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २२, बिहीबार १६:२१
अख्तियार दुरुपयोग अनुसन्धान आयोग

काठमाडौं । घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली, माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्लीबहादुर वलीविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

छुट जग्गा दर्ताको सिफारिससहितको मिसिल तथा आवश्यक कागजात भूमि प्रशासन कार्यालय, मनमैजु, काठमाडौंमा पठाइदिने र छुट जग्गा दर्ताको काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग १० लाख रुपैयाँ घुस मागेको आरोप वलीमाथि लागेको आयोगले जनाएको छ ।

आयोगका अनुसार वलीले घुस मागिरहेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियारको टङ्गालस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका क्रममा वलीले छुट जग्गा दर्ताको सिफारिससहितको मिसिल फाइल तथा आवश्यक कागजात भूमि प्रशासन कार्यालय, मनमैजुमा पठाउने र छुट जग्गा दर्ताको काममा सहजीकरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग १० लाख घुस माग गरी लिएको पुष्टि भएको आयोगको दाबी छ ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद तथा सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबराबर जरिवाना सजायको मागदाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×