एमालेको वडा र पालिका अधिवेशनको मिति तय

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २२, बिहीबार १८:१९
एमालेको वडा र पालिका अधिवेशनको मिति तय

काठमाडौं । नेकपा (एमाले) को आज (बिहीबार) बसेको स्थायी कमिटी बैठकले पार्टीका स्थानीय तहका कमिटीअन्तर्गतका अधिवेशनको मिति तय गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकले वडा कमिटीको अधिवेशन आगामी मंसिर २६ गते र पालिका कमिटीको अधिवेशन पुस ४ गते गर्ने निर्णय गरेको हो ।

बैठकको प्रारम्भमा केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पार्टीको वरिष्ठ नेतामा मनोनीत भएकी विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरिन् । बैठकले आगामी मंसिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए । उनका अनुसार भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष र विभिन्न तहका जनप्रतिनिधिको सहभागिता रहनेछ ।

स्थानीय तहका वडा र पालिका अधिवेशन सम्पन्न भएपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय पनि बैठकले गरेको आचार्यले जानकारी दिए । यसैगरी, मधेस प्रदेशसभामा समानुपातिकतर्फ रौतहट जिल्लाबाट प्रतिनिधित्व गरेकी जैनब खातुनको निधनपछि रिक्त भएको स्थानमा समानुपातिक सूचीकी उम्मेदवार नाजमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय बैठकले गरेको प्रचार विभाग प्रमुख आचार्यले बताए ।

बैठकले पार्टीका १३ जिल्लामा रिक्त जिल्ला अध्यक्षको पद जिल्ला तहकै निर्णयबाट पूर्ति गरी सम्बन्धित संगठन कमिटीमा रूपान्तरण गर्ने र त्यसलाई माथिल्लो कमिटीबाट अनुमोदनका लागि पठाउने निर्णय गरेको छ । स्थायी कमिटीको बैठक शुक्रबार पुनः बस्नेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×