३७ अर्ब ७० करोडको बजेट

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २५, आइतबार १७:३८

सुदूरपश्चिम । लामो समयदेखि बजेटविहीनताको अन्योलमा रहेको सुदूरपश्चिम प्रदेशमा सरकारले चालू आर्थिक वर्ष २०८३–८४ का लागि ३७ अर्ब ७० करोड रुपैयाँभन्दा बढीको बजेट प्रस्तुत गरेको छ ।

आइतबार प्रदेशसभाको बैठकमा आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले ३७ अर्ब ७० करोड ३९ लाख ६७ हजार रुपैयाँको बजेट पेस गरेका हुन् । यो बजेट गत असार १ गते तत्कालीन सरकारले प्रस्तुत गरेको बजेटकै आकारको हो ।

बजेट पारित हुन नसक्दा प्रभावित भएका सरकारी कामकाज र विकास निर्माणका गतिविधि अब अघि बढ्ने अपेक्षा गरिएको छ । सरकारले बजेटमा कृषि, स्वास्थ्य, सिँचाइ, विपद् व्यवस्थापन तथा स्थानीय उत्पादनको प्रवर्धनलाई समेटेको छ ।

बजेटको स्रोतका रूपमा आन्तरिक राजस्वबाट १ अर्ब ७२ करोड, राजस्व बाँडफाँटबाट १० अर्ब २४ करोड ९२ लाख ६५ हजार र वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ६ करोड ३३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै, सशर्त अनुदानमा ६ अर्ब ३ करोड ५८ लाख, समपूरक अनुदानमा ३८ करोड ८० लाख र विशेष अनुदानमा ५२ करोड ७६ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ ।

स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ३७ करोड ६८ लाख रुपैयाँ विनियोजन गरिएको छ । प्रदेशमा उत्पादित वस्तुको प्रशोधन, ब्रान्डिङ, प्याकेजिङ र बजारीकरणका लागि ‘मेड इन सुदूरपश्चिम’ कार्यक्रममा १ करोड २० लाख रुपैयाँ छुट्याइएको छ । विपद्का बेला हवाई उद्धार गर्न प्रत्येक जिल्लाका लागि ५० लाखका दरले कुल ४ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै, दार्चुलाको गोकुलेश्वर र बाजुराको कोल्टी अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गर्ने योजना अघि सारिएको छ । सिँचाइ सुविधा विस्तारका लागि २ अर्ब ४९ करोड रुपैयाँ र प्रदेश राजधानीको पूर्वाधार निर्माणका लागि १ करोड रुपैयाँ छुट्याइएको छ ।

बाढीले क्षति पुर्‍याएको कञ्चनपुरको दोधारा चाँदनीस्थित झोलुंगे पुलको मर्मत तथा पुनःस्थापनाका लागि पनि १ करोड रुपैयाँ विनियोजन गरिएको छ । यद्यपि, मन्त्री मल्लले बजेटमा चालु र पुँजीगत खर्चको छुट्टाछुट्टै विवरण भने प्रस्तुत गरेनन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×