
विराटनगर । विराटनगरको बरगाछीस्थित निहारिका कलेजबाट स्नातक तह उत्तीर्ण गरेका १५० जना विद्यार्थी दीक्षित भएका छन् । आइतबार कलेज परिसरमा आयोजित दीक्षान्त समारोहमा विभिन्न संकायका विद्यार्थीलाई दीक्षित गरिएको हो ।
कलेजका अनुसार बीएससी सीएसआईटी, बीएचएम, बीएसआईटी, बीसीए, बीबीएस र बीआईएम संकायका १० औँ ब्याचका विद्यार्थी दीक्षित भएका हुन् ।

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कलेज प्रमुख अमित ढकालले दीक्षित विद्यार्थीलाई आगामी शैक्षिक तथा व्यावसायिक यात्राका लागि शुभकामना दिँदै स्वरोजगार बन्न प्रेरित गरे । उनले कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्दै बजारको मागअनुसार योग्य जनशक्ति उत्पादन गरिरहेको बताए ।

‘हामीले गुणस्तरीय शिक्षा प्रदान गरेर बजार सुहाउँदो योग्य जनशक्ति उत्पादन गरेका छौँ,’ उनले भने, ‘आगामी दिनमा हाम्रा विद्यार्थी हस्पिटालिटी, बैंकिङ तथा सूचना प्रविधिलगायतका क्षेत्रमा अब्बल साबित हुने विश्वास लिएका छौँ।’

कार्यक्रमका प्रमुख अतिथि प्रदेश योजना आयोगका सदस्य तथा कलेजका अध्यक्ष रुपेश खतिवडा र उपाध्यक्ष दिपेश बास्तोलाले दीक्षित विद्यार्थीलाई बधाई दिँदै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे।

दीक्षान्त समारोहका अवसरमा विभिन्न संकायमा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो। कार्यक्रममा कलेजका विद्यार्थीले सांस्कृतिक नृत्य तथा गायन प्रस्तुत गरेका थिए ।



























